काठमाडौं। कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न प्लेअफको खेलमा काठमाडौं रेड्सलाई हराउँदै कर्णाली फाइनल पुगेको हो।

शनिबार हुने फाइनलमा कर्णालीले उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ। अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। ६ टिम सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान छ। त्यस्तै, लिगमा दोश्रो र तेश्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेफ खेल्नु पर्ने थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको त्यही प्लेअफमा कर्णालीले काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुग्यो। कर्णाली २५–२१, २०–२५, २५–२३ र २५–२२ ले विजयी भयो । कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए। लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।