काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कतिपय सांसदहरु ‘लगामविनाको घोडा’जस्तो भइरहेका बेला ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणको प्रक्रिया अगाडि बढाएको छ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। भदौ ५ गते बसेकाे केन्द्रीय कमिटीको निर्णय बमोजिम समिति गठन गरिएको रास्वपाले जनाएको छ।
समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने सदस्य छन्।
रास्वपाका कतिपय सांसदहरु जथाभावी अभिव्यक्तिका कारण एकपछि अर्को गरी विवादमा तानिरहेका छन्। सभापति रवि लामिछानेले मर्यादामा रहन पटक पटक निर्देशन दिए पनि सांसदहरु सम्हालिएको अनुभव रास्वपाकै नेताहरुले नगरेका कारण राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन लागिएको हो।
रास्वपाले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो।