काठमाडौं। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान। भौगोलिक हिसाबले यी देश नेपालभन्दा जति नजिक छन्, क्रिकेटमा त्यति धेरै नजिक छैनन्। त्यसैले, यी देशसँग नेपाली क्रिकेटले बल्लतल्लमात्र भेट पाउँछ। उमेर समूहमै भइरहने भेटमा नेपाली समर्थक रमाउनुपर्ने स्थिति छ।
विश्व क्रिकेटमा सधैं महारथी बन्ने भारत र पाकिस्तानलाई सिनियर स्तरमा नेपालले कहिले भेटेको थियो?

सन् २०२३ को एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग आमनेसामने भएको थियो। दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुल्सन झा लगायत नेपाली खेलाडीले विराट कोहली, रोहित शर्मा, बाबर आजम, मोहम्मद रिजवानजस्ता खेलाडीसँग त्यसैबेला मात्र खेलेका थिए।
यो नै नेपालले खेलेको पहिलो र एकमात्र एसिया कप थियो। फेरि एसिया कप खेल्न पाएको भए नेपाली खेलाडीले यो अवसर पाउने थिए।
तर, त्यसपछि नेपालले कहिल्यै एसिया कप पुग्ने बाटोका रुपमा रहेको एसीसी प्रिमियर कप छिचोल्नै सकेन। अघिल्लो संस्करणमा एसोसिएटका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्दा नेपाल दर्शक मात्रै बन्न सक्यो। यसको कारण कमजोर प्रदर्शन र नतिजा नै थियो।
यसपालि फाइनल पुगेसँगै नेपालले इमर्जिङ एसिया कपमा स्थान बनाइसकेको छ। यो प्रतियोगिता टेस्ट राष्ट्रका ‘ए’ टोली र एसोसिएटका सिनियर टोलीले खेल्छन्।
नेपालको बाटोमा यूएई, ओमन, हङकङजस्ता देश आइरहे। यसपालि भने नेपाल फेरि एसिया कपको मुखैमा छ। शनिबार यूएईलाई हराएमा नेपालसामु भारत र पाकिस्तानसँग फेरि खेल्ने अवसर आउनेछ।
एसियाका एसोसिएट टोलीलाई एसिया कप पुग्ने बाटो हो- एसीसी प्रिमियर कप। यसअघि एसिया कप खेल्दा नेपाल यो प्रतियोगितामा च्याम्पियन बनेको थियो घरेलु मैदानमा। तर, त्यसपछिका संस्करणमा नेपाल सेमिफाइनलबाट अगाडि बढ्न सकेन। यसपालि फेरि नेपालले आशा देखाएको छ।

एकदिवसीय फरम्याटको सीडब्लूसी लिग-२ मा निराशाजनक प्रदर्शन देख्दा यसपालि पनि नेपालले प्रिमियर कपमा खासै गतिलो प्रदर्शन गर्ने लक्षण थिएन।
नेदरल्याण्ड्स भ्रमणमा चार खेल खेल्दा नेपालले सबै खेलमा पराजय ब्यहोरेको थियो। यस्तोमा मलेसियामा प्रिमियर लिग खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानदेखि सिनियर खेलाडीसम्ममा ठूलो हेरफेर गर्यो। १० देश सहभागी प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ।
चर्चा गरौँ प्रिमियर कप फाइनलको। यसपालि नेपालको अन्तिम प्रतिद्वन्दी छ यूएई। यूएई र नेपालको नतिजा सँधै १९/२० कै हो। त्यसैले पनि एसोसिएटको एल-क्लासिको अर्थात महाभिडन्त भनेर यो खेललाई चिनिन्छ।
जारी प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुग्दा यूएई समूह ‘बी’को विजेता थियो। तुलनात्मक रुपमा सहज ग्रुपमा रहेको नेपाल लिग चरणको अन्तिम खेलमा हङकङसँग हार्यो। यूएई भने सबै खेलमा जित निकालेर सेमिफाइनल पुग्यो।
प्रतियोगिताभर नेपालको संघर्ष ब्याटिङमा रह्यो। २०० रन बनाउन मुस्किल भइरहँदा नेपाल बलिङको बलमा फाइनलमा पुगेको हो। नेपालसामु फाइनलमा बलिङ सुधार्नुपर्ने चुनौती छ।
शीर्षक्रमका अर्जुन कुमाल, रोहित पौडेलजस्ता खेलाडी चलेकै छैनन्। पूर्वकप्तान रोहित पौडेलको लय निराशाजनक छ। यसको दबाब मध्यक्रमले झेल्दै आएको छ।
अर्कातर्फ यूएईको लय लोभलाग्दो छ। उसको ब्याटिङमा रन बनिरहेको छ, बलिङमा पनि उत्तिकै अब्बल छ।
नेपालको सबैभन्दा उत्साहप्रद स्थिति बलिङमा छ। सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्लजस्ता विश्वस्तरीय स्पिनरले प्रभाव जमाएका छन्। पेस बलिङ भने करण केसीले धान्दै आएका छन्।

जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपाली ब्याटर शीर्ष १० सम्म पनि छैनन्। यो सूचीको चौथो स्थानमा यूएईका अदीप उस्मानी छन्।
नेपालका सबैभन्दा धेरै रन बनाउने इशान पाण्डे १५२ रनसहित १२औं स्थानमा छन्। बलिङमा सन्दीप लामिछानेले सर्वाधिक १३ विकेट लिंदा समान १० विकेट लिएका यूएईका हैदर अली र आयन खान तेस्रो र चौथो स्थानमा छन्।
९ विकेट लिएका ललित राजवंशी छैटौं स्थानमा छन्। जारी प्रतियोगितामा पेसर भन्दा पनि स्पिनर बलिङमा हाबी भइरहँदा नेपाललाई बलियो स्पिन अट्याकको फाइदा पनि छ।
तर, प्रतियोगितामा नेपालसहित धेरै टोलीले रन स्कोर गर्नै संघर्ष गरिररहेका छन्। यूएई यसमा बलियो देखिएको छ। प्रतियोगिताको दुबै सेमिफाइनल खेल ‘लो स्कोरिङ’ थिए। पहिलो सेमिफाइनलमा नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याउँदा ओमन ६० रनमै अलआउट भइ ८७ रनले पराजित भएको थियो।
दोस्रो सेमिफाइनलमा सुरुवाती ब्याटिङ गरेको हङकङ ७० रनमै समेटिएको थियो। यो लक्ष्य यूएईले ११.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
फाइनल खेलमा दुबै टोलीलाई उत्तिकै चुनौती छ। खासगरी प्रतियोगिताभर बलिङमा उत्कृष्ट रहेको नेपालले शनिबार ब्याटिङ सुधारे पक्कै सन्तुलित यूएईलाई हराएर एसिया कप खेल्नेछ। र, सायद फेरि हेर्न पाइने छ नेपाल भर्सेस भारत, नेपाल भर्सेस पाकिस्तान या नेपाल भर्सेस श्रीलंकाको खेल?
प्रिमियर कपमा नेपालको नतिजा
लिग चरण
नेपाल भर्सेस बहराइन – ७ विकेटको जित
नेपाल भर्सेस मलेसिया – ६ विकेटको जित
नेपाल भर्सेस साउदी अरेबिया – ५ विकेटको जित
नेपाल भर्सेस हङकङ – १५ रनको हार
सेमिफाइनल
नेपाल भर्सेस ओमन – ८७ रनको जित
प्रिमियर कपमा यूएईको नतिजा
लिग चरण
यूएई भर्सेस कतार – ९२ रनको जित
यूएई भर्सेस कुवेत – ६६ रनको जित
यूएई भर्सेस सिंगापुर – ७ विकेटको जित
यूएई भर्सेस ओमन – ४९ रनको जित
सेमिफाइनल
यूएई भर्सेस हङकङ – ७ विकेटको जित