BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितलाई पुनर्स्थापना गर्न वर्षमानको माग,’सुरक्षित आवासको दीर्घकालीन योजना चाहिन्छ’

२०८३ भदौ २६

बाढी प्रभावितलाई पुनर्स्थापना गर्न वर्षमानको माग,’सुरक्षित आवासको दीर्घकालीन योजना चाहिन्छ’
बाढी प्रभावितलाई पुनर्स्थापना गर्न वर्षमानको माग,’सुरक्षित आवासको दीर्घकालीन योजना चाहिन्छ’


काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले बाढी प्रभावितका लागि राहतसँगै मध्यकालीन र दीर्घकालीन पुनर्स्थापनाको खाका सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

Vigo
GBIME
Tata

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपा संसदीय दलका तर्फबाट पार्टीको धारणा राख्दै पुनले बाढी प्रभावित उद्योग, व्यवसायी र निजी क्षेत्रलाई पनि राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने बताए।

‘घरबार गुमाएका र विस्थापित परिवारका लागि तत्काल सुरक्षित अस्थायी आवास तथा जोखिमयुक्त बस्तीको पहिचान गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा सुरक्षित आवासको दीर्घकालीन योजना बनाउनुपर्छ,’ पुनले भने, ‘नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा बस्ती र पूर्वाधार निर्माणसम्बन्धी मौजुदा नीतिमा व्यापक पुनरवलोकन गरिनुपर्छ।’

सांसद पुनले जेनजी आन्दोलनका बेला आगजनीमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन माग गरे। उनले जेनजी आन्दोलनलाई एउटा घटनाका रूपमा समाप्त गर्ने प्रयास गर्नु ठूलो भूल हुने बताए। ‘अहिले पनि युवाहरूले रोजगारी खोजिरहेका छन्, उनीहरू अवसर खोजिरहेका छन्। उनीहरू पारदर्शिता खोजिरहेका छन्,’ पुनले भने।

उनले जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त असन्तुष्टिले प्रधानमन्त्री बालेन्द्र शाहमाथि जनताले प्रश्न उठाउन थालेको पुष्टि भएको बताए। प्रश्नैप्रश्न गरेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रश्न सुन्न नचाहेको उनको आरोप छ।

‘माग र असन्तुष्टि सुन्नुहोस्। राज्य र नागरिकबीच विश्वास कमजोर हुँदा मुलुकले के कस्ता दुर्भाग्यपूर्ण परिघटनाको सामना गर्नुपर्छ भन्नेबारे हामी सबै जानकार नै छौं । त्यसैले म भन्न चाहन्छु, देशले अब अर्को विद्रोह र विध्वंश थेग्न सक्दैन,’ उनले भने।