BIZMANDU
www.bizmandu.com

तीज आयो तर आएनन् सुन पसलमा ग्राहक, मूल्य बढेपछि कारोबार अघिल्ला वर्षहरूभन्दा न्यून

२०८३ भदौ २६

तीज आयो तर आएनन् सुन पसलमा ग्राहक, मूल्य बढेपछि कारोबार अघिल्ला वर्षहरूभन्दा न्यून
तीज आयो तर आएनन् सुन पसलमा ग्राहक, मूल्य बढेपछि कारोबार अघिल्ला वर्षहरूभन्दा न्यून


काठमाडौं। तीज नजिकिँदै गर्दा सामान्यतया सुनचाँदी पसलमा ग्राहकको चहलपहल बढ्छ। एक महिनाअघिदेखि नै गहना बनाउन अर्डर आउन थाल्छ।

Vigo
GBIME
Tata

तर, यसपटक अवस्था फरक छ। सुनको मूल्य प्रति तोला ३ लाख रुपैयाँभन्दा माथि पुगेपछि तीजको मुखमै सुनचाँदी बजार सुनसान छ।

काठमाडौंको न्युरोडस्थित विशालबजार, प्युखा, असन लगायतका क्षेत्रमा सुनचाँदी पसल खुलेका छन्। तर, ग्राहकको उपस्थिति भने न्यून छ।

दिउँसो ४ बजेसम्म पनि धेरै पसल खाली देखिन्छन्। केही पसलमा फाट्टफुट्ट ग्राहक देखिए पनि विगतको जस्तो चहलपहल भने छैन।

ग्राहक नआएपछि व्यवसायी र कर्मचारी मोबाइल चलाएर समय बिताउने गरेका छन्। चाडपर्वमा व्यापार बढ्ने आशामा बसेका व्यवसायी दिनभर ग्राहक कुरेर बसिरहेका हुन्छन्।

महँगो मूल्यका कारण यसपटक व्यवसायीले तीज लक्षित गहना पनि धेरै बनाएका छैनन्। भोटेकोशीमा आएको बाढीले पनि व्यापारमा असर पारेको व्यवसायीको भनाइ छ।

महँगो मूल्यमा गहना बनाएर राख्दा पछि सुनको भाउ घटेमा घाटा हुने जोखिम हुन्छ। त्यसैले ग्राहकको अर्डर आएपछि मात्र गहना बनाउने गरिएको छ।

न्युरोड प्युखास्थित मनकामना सुनचाँदी गहना उद्योगका सञ्चालक राजभाई शाक्यका अनुसार यसपटक तीजमा सुनको कारोबार निकै घटेको छ।

विगतमा तीज आउनुभन्दा दुई महिनाअघि नै गहनाको अर्डर आउन थाल्थ्यो। अहिले भने अवस्था त्यस्तो छैन।

‘अहिले कुनै दिन बोनी नै नगरी पसल बन्द गर्नुपर्ने अवस्था छ। सुनको कारोबार छैन भन्न मिल्दैन। तर, गत वर्षको तुलनामा अहिले करिब २ प्रतिशत मात्रै कारोबार भइरहेको छ,’ शाक्यले भने।

सुनको मूल्य निरन्तर बढेपछि यसपटक तीजको तयारीसमेत नगरेको उनले बताए। महँगो मूल्यमा धेरै गहना बनाएर राख्दा पछि मूल्य घटेमा बिक्री गर्न कठिन हुने उनको भनाइ छ।

अहिले ग्राहकले नयाँ सुन खरिद गर्नुभन्दा पुरानो सुन साटेर नयाँ गहना बनाउने गरेका छन्। कतिपयले पुरानो सुन बिक्रीसमेत गरिरहेका छन्।

‘ग्राहकले पुरानो सुन ल्याएर नयाँ बनाउने वा बिक्री गर्ने गरेका छन्। पुरानो सुन आएपछि बैंकबाट नयाँ सुन खरिद गर्नुपरेको छैन,’ शाक्यले भने, ‘बिल लिएर आएको सुन खरिद नगरी बस्न पनि मिल्दैन। तर, कारोबार नहुँदा ग्राहकले ल्याएको सुन खरिद गर्न पनि समस्या भइरहेको छ।’

उनका अनुसार अहिले ग्राहकले सुन बिक्री गर्न चाहने समयमै व्यवसायीले खरिद गर्नुपर्ने अवस्था छ। तर, नयाँ सुनको कारोबार नहुँदा व्यवसायीलाई त्यसले थप समस्या पारेको छ।

करिब ३५ वर्षदेखि सुनचाँदी व्यवसायमा रहेका शाक्यले यसअघि यस्तो अवस्था नदेखेको बताए। सुनको मूल्य बढ्दै जाँदा व्यवसायमा चुनौती थपिएको उनको भनाइ छ।

विशालबजारस्थित जेम्स अर्नामेन्ट इम्पोरियमकी सञ्चालक निलिमा श्रेष्ठ पनि सुनको व्यापार सुस्त रहेको बताउँछिन्। उनका अनुसार पछिल्लो समय सुनको मूल्य बढेसँगै नयाँ ग्राहकको संख्या निरन्तर घटिरहेको छ।

‘सन् २०२३ र २०२४ सम्म चाडपर्व र बिहेको सिजनमा पसलमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो। अहिले भने ग्राहक नहुँदा खाली बस्नुपरेको छ,’ श्रेष्ठले भनिन्।

उनका अनुसार सुनको मूल्य बढ्नु मात्रै बजार सुस्त हुनुको कारण होइन। भोटेकोशीको बाढीले पनि उपभोक्ताको खर्च गर्ने प्राथमिकता प्रभावित गरेको छ।

‘एकातिर भोटेकोशीको बाढीले नागरिकमा चाडपर्व मनाउने उत्साह कम भएको छ। अर्कोतिर सुनको मूल्य आकाशिएको छ। त्यसैले सुन खरिद गर्ने ग्राहक निकै कम भएका छन्,’ उनले भनिन्।

गत वर्षदेखि सुनको मूल्य बढ्न थालेपछि माग पनि घट्दै गएको श्रेष्ठको भनाइ छ। त्यसैले यसपटक तीजका लागि भनेर धेरै गहना बनाइएको छैन।

‘माग घट्दै गएकोले यसपटक तीजका लागि धेरै गहना बनाएका छैनौं,’ उनले भनिन्, ‘सुनको व्यवसायमा चुनौती थपिएको छ। पछिल्लो समय व्यवसाय टिकाउनै धौधौ छ।’

पुराना ग्राहक गहना साटफेरका लागि आइरहँदा नयाँ ग्राहकको चहलपहल निकै कम छ। पुरानो पसल भएकाले नियमित ग्राहकले केही हदसम्म कारोबार धानेको श्रेष्ठ बताउँछिन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्य पनि यसपटक तीजमा सुनको माग नरहेको बताउँछन्। विगतमा तीजका लागि नयाँ गहना खरिद गर्ने ग्राहकको संख्या ठूलो हुन्थ्यो। अहिले भने त्यो क्रम रोकिएको छ।

बज्राचार्यका अनुसार सामान्य अवस्थामा यो समयमा दैनिक करिब २० किलो सुनको कारोबार हुने गरेको थियो। अहिले भने नयाँ सुन खरिद गर्ने ग्राहक निकै कम छन्।

‘अहिले नयाँ सुनको माग छैन। ग्राहकले पुरानो सुन ल्याउँछन्। त्यसमा थपथाप गरेर गहना लैजाने गरेका छन्,’ उनले भने।

नयाँ सुनको माग घटेपछि बैंकबाट आयात भएको सुनसमेत स्टकमा बस्न थालेको व्यवसायीको भनाइ छ। बजारमा माग नहुँदा बैंकबाट सुन खरिद गर्ने आवश्यकता व्यवसायीलाई परेको छैन।

बज्राचार्यका अनुसार भोटेकोशी बाढीको प्रभावले पनि सुनको माग घटेको छ। विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नुपर्ने भावना बढेकाले उपभोक्ताको प्राथमिकता परिवर्तन भएको उनको भनाइ छ।

सुन महँगो हुँदा सामान्य गहना किन्न पनि कम्तीमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। त्यही रकम बाढी प्रभावितका लागि सहयोग गर्ने क्रम बढेकाले सुन खरिदमा चासो कम भएको बज्राचार्य बताउँछन्।