BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री शाहले न्यूजिल्याण्डका समकक्षीसँग गरे टेलिफोन वार्ता, बाढीपछिको अवस्थाबारे कुराकानी

२०८३ भदौ २६

प्रधानमन्त्री शाहले न्यूजिल्याण्डका समकक्षीसँग गरे टेलिफोन वार्ता, बाढीपछिको अवस्थाबारे कुराकानी
प्रधानमन्त्री शाहले न्यूजिल्याण्डका समकक्षीसँग गरे टेलिफोन वार्ता, बाढीपछिको अवस्थाबारे कुराकानी


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले न्यूजिल्याण्डका समकक्षी क्रिस्टोफर लक्सनसँग शुक्रबार टेलिफोन वार्ता गरेका छन्। वार्तामा नेपालमा हालै आएको विनाशकारी बाढी, खोज तथा उद्धार र मानवीय सहायताका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

Vigo
GBIME
Tata

कुराकानीका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सरकारले खोज, उद्धार र राहतका कामलाई तीव्रता दिएको जानकारी दिए। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन राज्यका सबै संयन्त्र परिचालन गरिएको उनले बताए।

प्रधानमन्त्री शाहले बाढीपछि बेपत्ता भएका नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे। बेपत्ता नागरिकको अवस्था पत्ता लगाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू निरन्तर परिचालित रहेको उनले जानकारी दिए।

उनले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने काम भइरहेको बताए। साथै, प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक तयारी अघि बढाइएको पनि जानकारी दिए।

प्रधानमन्त्री शाहले बाढीपछि न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति आभार व्यक्त गरे। संकटको समयमा न्यूजिल्याण्डले देखाएको सहयोग र ऐक्यबद्धताले नेपाललाई थप हौसला दिएको उनले बताए।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको उल्लेख गरे। जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेको उनले बताए।

उनले जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानी न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए। यस विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगका लागि पनि उनले आग्रह गरे।

सो क्रममा न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरे। उनले न्यूजिल्याण्ड सरकार र जनताको तर्फबाट नेपाली नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरे।

प्रधानमन्त्री लक्सनले विपद्को यस कठिन समयमा न्यूजिल्याण्ड नेपालसँगै रहेको सन्देश दिए। उनले बाढीबाट प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता समेत व्यक्त गरे।