BIZMANDU
www.bizmandu.com

पोतेको ‘लक्जरी’ बजारमा साबुको ब्रान्ड, दर्जनौं महिलाको रोजगारीसँग जोडिएको व्यवसाय

२०८३ भदौ २६

पोतेको ‘लक्जरी’ बजारमा साबुको ब्रान्ड, दर्जनौं महिलाको रोजगारीसँग जोडिएको व्यवसाय
पोतेको ‘लक्जरी’ बजारमा साबुको ब्रान्ड, दर्जनौं महिलाको रोजगारीसँग जोडिएको व्यवसाय


काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित महिलाका लागि साबित्री पौडेल (साबु) ले राहत सामग्री र प्याडवेयर प्रभावित क्षेत्रमा पठाइन्। आफैं पनि प्याडवेयर लगायत सामान लिएर पुग्दैछिन्।

Vigo
GBIME
Tata

बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका मानिसका अनुहारमा उनले देखेको पीडा उनका लागि नौलो थिएन। विपद्ले मानिसको जीवन कसरी एकैछिनमा उल्ट्याइदिन सक्छ भन्ने उनले आफैं भोगेकी छन्।

त्यसैले अहिले उनी राहतसँगै अर्को कुरा पनि सोचिरहेकी छन्। त्यो हो, विपद्मा परेका महिलालाई कसरी मानसिकरूपमा सम्हाल्ने र उनीहरूलाई फेरि आफ्नै खुट्टामा उभिन सक्ने बनाउने? साबुको यो सोच भोटेकोशी बाढी प्रभावितलाई देखेर आएको होइन, यसको जरा २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पसम्म पुग्छ।

गोरखाको बारपाक केन्द्रविन्दु भइ आएको त्यो भूकम्पले काठमाडौं, काभ्रेसँगै धेरै जिल्ला प्रभावित भएको थियो। हजारौंको ज्यान गयो, लाखौंको जीवन प्रभावित बनायो। कसैले घर गुमाए, कसैले आफन्त त कसैले आफ्नै शरीरको अंग। साबुको परिवार पनि त्यसबाट अछुतो रहेन।

कलंकीस्थित एक व्यावसायिक भवनमा रहेका उनका श्रीमान् भूकम्पमा पुरिए। भवनमा रहेका ४० भन्दा बढीले ज्यान गुमाउँदा उनका श्रीमानसहित दुई जनाको भने जीवितै उद्धार भयो। जीवन त जोगियो, तर उनका श्रीमानले एउटा खुट्टा गुमाउनुपर्‍यो।

त्यसपछि सुरु भयो लामो अस्पताल बसाइ, उपचार र पुनर्स्थापनाको यात्रा। श्रीमानको उपचारसँगै साबु स्वयं पनि मानसिक तनावबाट गुज्रिइन्। तर अस्पताल र थेरापी सेन्टरमा बिताएका ती दिनले उनको जीवनको बाटो नै बदलिदिए।

श्रीमानको उपचारका क्रममा उनले शारीरिक अपांगता भएका थुप्रै महिलालाई भेटिन्। उनीहरूमध्ये धेरैलाई शारीरिक अपांगतासँगै आर्थिक समस्या पनि थिए। अस्पताल पुगेकी साबुले आफूभन्दा फरक किसिमको पीडा बोकेका महिलालाई नजिकबाट देखिन्।

‘अस्पताल र पुनर्स्थापना केन्द्रमा रहँदा म शारीरिक र आर्थिक रूपमा सक्षम थिएँ, मेरो श्रीमान् शारीरिक रूपमा अपांगता भए पनि जीवित हुनुहुन्थ्यो। तर, मसँगै त्यहाँ थुप्रै दिदीबहिनीहरू हुनुहुन्थ्यो, जो शारीरिक अपाङ्गतासँगै आर्थिक समस्यामा पनि हुनुहुन्थ्यो। उहाँहरूलाई कसरी आर्थिक रूपमा सक्षम बनाउन सकिन्छ भन्ने सोच आयो,’ साबु सम्झिन्छिन्। त्यही सोचबाट जन्मियो, ‘वी नेपाल क्राफ्ट।’

मानसिक उपचारसँगै सीप र रोजगारी

भूकम्पपछि अपांगता भएका महिलालाई मानसिक रूपमा सक्रिय राख्ने र उनीहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले साबुले पोते बुन्ने काम सुरु गरिन्। पोते बनाउँदा हात र दिमाग दुवै एकाग्र हुनुपर्ने भएकाले मानसिक तनावमा रहेका महिलाका लागि यो उपयोगी हुन सक्छ भन्ने उनलाई लागेको थियो।

‘भूकम्पमा परेर अपांगता भएका दिदीबहिनीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउन र उहाँहरूलाई आर्थिक रूपमा सशक्त बनाउन व्यवसाय सुरु गरेँ,’ उनी भन्छिन्।

सुरुमा केही महिलालाई काममा जोड्ने र मानसिक रूपमा सबल बनाउने उद्देश्य मात्रै थियो। बजारमा माग बढ्दै गएपछि भने त्यसले विस्तारै व्यावसायिक रूप लिन थाल्यो।

साबुले त्यतिबेला सायदै सोचेकी थिइन्, आफूलाई र आफूजस्तै कठिन अवस्थामा रहेका महिलालाई सम्हाल्ने उद्देश्यले सुरु गरेको सानो प्रयास एक दिन पोतेलाई लक्जरी ज्वेलरीका रूपमा स्थापित गर्ने व्यवसाय बन्नेछ। अझ महत्त्वपूर्ण, दर्जनौं महिलाको आम्दानीको आधार बन्नेछ।

आज वी नेपाल क्राफ्टमा ४० देखि ५० जनासम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्। काम काठमाडौं उपत्यकामा मात्र सीमित छैन। धादिङ, नुवाकोट, काभ्रे, बुटवल, पर्सा लगायतका जिल्लामा पुगेर महिलालाई निःशुल्क सीप सिकाउने काम भइरहेको छ।

पर्सामा पिछडिएका वर्गका महिलालाई निःशुल्क सीप सिकाउनेदेखि त्यहाँका बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले विद्यालय सञ्चालनसम्मको काममा उनी जोडिएकी छन्। ‘व्यक्तिले गरेर सम्भव नहुने रहेछ, राज्यले गरे त्यो सफल हुन्छ। व्यक्तिले गर्दा कहिलेसम्म धान्ने भन्ने हुने रहेछ,’ उनी भन्छिन्।

बौद्धिक तथा शारीरिक अपांगता भएका बालबालिकाका आमाहरूलाई समेत सीप सिकाएर आयआर्जनमा जोड्ने प्रयास भइरहेको उनी बताउँछिन्।

कारखानादेखि घरमै रोजगारीसम्म

वी नेपाल क्राफ्टको विशेषता यहाँ काम गर्ने तरिका पनि हो। सीप सिकिसकेपछि सबैले कारखानामै पुगेर काम गर्नुपर्दैन। आफूलाई सहज हुने ठाउँबाटै पोते बुन्न सकिन्छ। अहिले करिब १० जना महिला बत्तीसपुतलीस्थित वी नेपाल क्राफ्टको कारखानामै आएर काम गर्छन्। अरू धेरैले भने घरबाटै पोते बुन्ने गरेका छन्। मध्यबानेश्वरस्थित पसलमा पनि शारीरिक अपांगता भएका महिलालाई रोजगारी दिइएको छ।

साबुको प्रयास वी नेपाललाई केवल व्यवसाय नभई सीप, रोजगारी र आत्मनिर्भरताको चौतारी बनाउने हो। ‘अरूले मलाई कठिन समयमा जसरी सहयोग गरे, त्यसैबाट मैले पनि अरूलाई सहयोग गर्नुपर्छ भन्ने सिकेँ,’ उनी भन्छिन्।

पाँच लाख रुपैयाँबाट सुरु भएको यात्रा

वी नेपाल क्राफ्ट सुरु गर्दा साबुसँग ठूलो व्यावसायिक योजना थिएन। भूकम्पको मानसिक आघातबाट आफू बाहिर निस्कने र आफूजस्तै अप्ठ्यारोमा रहेका महिलालाई केही सहयोग गर्ने उद्देश्य थियो। त्यसका लागि उनले श्रीमानसँग पाँच लाख रुपैयाँ लिएर काम सुरु गरेको बताइन्। सामाजिक उद्देश्यले थालिएको त्यही काम विस्तारै व्यवसायमा परिणत भयो।

तर साबुको व्यवसायिक यात्रा भूकम्पपछि मात्र सुरु भएको होइन। इन्जिनियरिङ अध्ययन गरेपछि विदेश जाने सोच बनाएकी उनी श्रीमानसँग जापान पुगिन्। त्यहाँ भाषा सिकिन्, काम गरिन् र केही वर्षपछि नेपाल फर्किइन्।

नेपाल आएपछि जापान जान चाहने युवालाई भाषा सिकाउने कन्सल्टेन्सीसमेत श्रीमान्–श्रीमतीले सञ्चालन गरे। समयले उनलाई इन्जिनियरिङबाट कन्सल्टेन्सी हुँदै सामाजिक उद्यम र व्यवसायसम्म ल्याइपुर्‍यायो।

पोतेलाई ‘लक्जरी ज्वेलरी’को पहिचान

परम्परागत रूपमा विवाहित महिलाको पहिचानसँग जोडिएको पोते अहिले फेसन र डिजाइनको हिस्सा बन्दै गएको साबुको अनुभव छ। ‘पोते अहिले लक्जरी ज्वेलरीमा पर्न थालेको छ। महिलाहरूले आफ्नो ड्रेसअनुसार कलर कम्बिनेसन र डिजाइन मिलाएर लगाउन थालेका छन्। त्यसैले यसको माग पनि बढिरहेको छ,’ उनी भन्छिन्।

साबुले परम्परागत पोतेलाई नयाँ डिजाइन, रंग संयोजन र स्टाइलसँग जोड्ने प्रयास गरेकी छन्। पोते र स्टोनका मालाको डिजाइन उनी आफैं गर्छिन्। बजारमा देखिएका डिजाइनको नक्कल गर्नुको सट्टा वी नेपालको आफ्नै पहिचान बनाउने उनको प्रयास छ।

सामाजिक उद्देश्यबाट सुरु भएको उत्पादनलाई उनले ‘लक्जरी’ देखिने गरी ब्रान्डिङ गरेकी छन्। नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीबाट समेत पोतेका मालाको माग आउने गरेको उनी बताउँछिन्। विशेषगरी साथीभाइ तथा आफन्तलाई उपहार दिन पोतेका माला अर्डर हुने गरेका छन्।

कोरोनाले देखायो अनलाइन बजारको बाटो

व्यवसाय विस्तार हुँदै गर्दा कोरोना महामारी आयो। भौतिक बजार बन्द भए। तर यही संकट वी नेपालका लागि अनलाइन बजारमा प्रवेश गर्ने अवसर बन्यो। ‘लकडाउनका क्रममा सामाजिक सञ्जालमार्फत व्यवसाय अघि बढाउने विषयमा छलफल भइरहन्थ्यो, त्यसपछि फेसबुक पेज बनाएर पोते माला बिक्री सुरु गरेँ,’ साबु भन्छिन्।

यसअघि साथीभाइ, आफन्त र स्टलमार्फत बिक्री हुने उत्पादन अनलाइनमार्फत देशका विभिन्न ठाउँमा पुग्न थाले। भाटभटेनी, सिटी सेन्टर र लबिम मलमा स्टल राखेर पनि उनले बजार विस्तार गरेकी थिइन्।

भाटभटेनीमा करिब चार वर्ष साताको अन्तिम दिन स्टल राखेर बिक्री गर्दा ग्राहकसँग प्रत्यक्ष सम्बन्ध बनाउन र ब्रान्डको प्रचार गर्न सहयोग पुगेको उनको अनुभव छ। लबिम मलमा स्टल राखेकै क्रममा अनलाइन बजारसँग जोडिने अवसर मिल्यो। त्यसपछि अनलाइन अर्डर बढ्दै गयो।

अहिले मध्यबानेश्वरको पसलसँगै सामाजिक सञ्जाल र अनलाइनमार्फत पनि वी नेपालका उत्पादन बिक्री भइरहेका छन्।

पोतेसँगै ‘प्याडवेयर’

वी नेपाल क्राफ्टको काम पोतेमा मात्र सीमित छैन। शारीरिक तथा बौद्धिक अपाङ्गता भएका महिलालाई महिनावारीका बेला प्याड प्रयोग गर्न कठिन हुने समस्या देखेपछि साबुले ‘प्याडवेयर’ उत्पादन सुरु गरिन्। प्याडवेयरमा पेन्टीमै कपडाको प्याड जोडिएको हुन्छ। पुनः प्रयोग गर्न मिल्ने भएकाले यो वातावरणमैत्री पनि छ।

बौद्धिक अपाङ्गता भएका छोरीका अभिभावकले महिनावारीका बेला प्याड लगाइदिन र प्रयोग भएको प्याड फेर्न समस्या हुने गरेको सुनाएपछि यसको आवश्यकता अझ स्पष्ट भएको साबु बताउँछिन्।

वी नेपालले पाँच वर्षदेखि प्याडवेयर बनाएर वितरण गर्दै आएको छ। पछिल्लो एक वर्षदेखि भने यसको व्यावसायिक बिक्रीसमेत सुरु गरिएको छ। ‘हुनेलाई बेच्ने र नहुनेलाई निःशुल्क दिने उद्देश्यले प्याडवेयरको उत्पादन बढाएका छौं,’ साबु भन्छिन्। विद्यालय, छात्रावास तथा विभिन्न संस्थामार्फत पनि यसको वितरण हुँदै आएको छ।

अफ सिजनमा सीपमूलक अभियान

पोतेको माग वर्षभरि हुने भए पनि पुस–माघमा केही कम हुने गर्छ। साबुले यही समयलाई नयाँ सीप सिकाउने अवसरका रूपमा प्रयोग गर्छिन्। त्यस अवधिमा उनी विभिन्न जिल्लामा पुगेर विपन्न तथा सीप सिक्न चाहने महिलालाई पोतेलगायतका सीप सिकाउँछिन्। यस अभियानमा टेवा नेपाललगायतका संस्थाले पनि सहयोग गर्दै आएका छन्।

‘मैले त भूकम्पमा परेका दिदीबहिनीलाई सहयोग गर्ने भावनाले काम सुरु गरेकी थिएँ । कुनै संस्थाले सहयोग गर्छ भन्ने नै थाहा थिएन। पछि टेवा नेपालले आफैं बोलाएर यस्तो काममा सहयोग गर्छौं भन्नुभयो। त्यसयता विभिन्न सीपमूलक तालिम र सामाजिक काममा सहयोग हुँदै आएको छ,’ उनी सम्झन्छिन्।

उनका लागि तालिमको उद्देश्य केवल सीप सिकाउनु होइन। सीप सिकिसकेपछि महिलाले त्यसबाट आम्दानी गर्न सकून् भन्ने हो।

अब विपद्पछिको पुनर्स्थापनामा जोड

भूकम्पले जन्माएको वी नेपाल क्राफ्ट अहिले अर्को विपद्को पीडामा रहेका मानिससम्म पुग्न चाहन्छ। भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री तथा प्याडवेयर वितरण गरिसकेको भए पनि प्रभावित महिलाका लागि काउन्सिलिङ र सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना साबुले बनाएकी छन्।

उनको अनुभवमा विपद्पछि राहत जति आवश्यक हुन्छ, मानसिक परामर्श र पुनर्स्थापनासँगै आयआर्जनको बाटो पनि त्यत्तिकै आवश्यक हुन्छ। त्यसैले प्रभावित क्षेत्रका महिलाको अवस्था र आवश्यकताको तथ्यांक संकलन भएपछि स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गरेर कार्यक्रम अघि बढाउने उनको योजना छ।

साबुको आफ्नै जीवन भूकम्पको ट्रमाबाट गुज्रिएको छ। त्यसैले विपद्का दृश्यले उनलाई अहिले पनि भावुक बनाउँछन्।

‘व्यापार अर्को वर्ष पनि गरौंला’

हरेक वर्ष जस्तै यस वर्ष पनि तीजका लागि पोतेको मेला गर्ने र राम्रो व्यापार गर्ने उनको योजना थियो। तर विपद्का कारण त्यो सम्भव भएन। उनका लागि अहिले व्यापारभन्दा प्रभावित मानिसको पुनर्स्थापना ठूलो विषय बनेको छ।

‘व्यापार त अर्को साल पनि गरौंला, अहिले जसले पीडा भोग्नुभएको छ, उहाँहरूको छिटो पुनर्स्थापनाका लागि प्रार्थना गरेका छौं,’ साबु भन्छिन्।

पाँच लाख रुपैयाँबाट सुरु भएको साबुको प्रयास आज दर्जनौं महिलाको आम्दानीसँग जोडिएको छ। भूकम्पले उनको जीवन बदल्यो, पोतेले उनको उद्देश्यलाई नयाँ दिशा दियो। आज वी नेपाल क्राफ्टमा बुन्ने प्रत्येक पोतेमा केवल रंगीन दाना छैनन्। त्यसमा कुनै महिलाले सिकेको सीप, कमाएको आम्दानी, आत्मनिर्भर बन्न थालेको उत्साह र बदलिँदो जीवनको कथा पनि जोडिएको छ।