BIZMANDU
www.bizmandu.com

घरजग्गा मेला असोज १ गतेदेखि भृकुटीमण्डपमा, पोपर्टी बिक्रीदेखि नि:शुल्क परामर्शसम्म

२०८३ भदौ २५

घरजग्गा मेला असोज १ गतेदेखि भृकुटीमण्डपमा, पोपर्टी बिक्रीदेखि नि:शुल्क परामर्शसम्म
घरजग्गा मेला असोज १ गतेदेखि भृकुटीमण्डपमा, पोपर्टी बिक्रीदेखि नि:शुल्क परामर्शसम्म


काठमाडौं। घरजग्गा व्यवसायीहरुले असोज १ देखि ४ गतेसम्म काठमाडौंमा घरजग्गा मेला गर्ने भएका छन्।

Vigo
GBIME
Tata

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्तरुपमा ‘सिजी प्रोपर्टिज नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ गर्ने भएका हुन्।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ भृकुटीमण्डपमा गर्न लागिएको प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनी रोशन भोयद्योका अनुसार अधिकांश स्टल बुकिङ भइसकेका छन्।

अपार्टमेन्ट, जग्गा विकास आयोजना, आधुनिक निर्माण सामग्री, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ तथा फोहोर व्यवस्थापनका आधुनिक प्रविधि प्रदर्शन गरिनेछ।

वातावरणमैत्री प्रविधिलाई प्रवर्धन गर्न यसपटक डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क र भर्चुअल रियालिटी प्रविधि प्रयोग गरी प्रदर्शनी ‘पेपरलेस’ बनाइने दुई संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।

प्रदर्शनीमा भूकम्प-प्रतिरोधी घर निर्माण तथा वास्तुकला सम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श उपलब्ध गराउनेछन्। मेलामा जलवायु परिवर्तन, विपद्-प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान र सार्वजनिक-निजी साझेदारीका विषयमा प्यानल छलफल हुनेछ।

भर्खरै उद्यम स्थापना गरी कठिनाइ सामना गरिरहेका युवालाई खुल्ला आह्वान गरी छानिएकाहरूलाई निःशुल्क तालिम तथा परामर्श प्रदान गरिने दुई संस्थाले बताएका छन्।

बैंकिङ क्षेत्रमा तरलता सहज रहेको र ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्तालाई उपयुक्त वित्तीय निर्णय लिन, सुलभ मूल्यमा घरघडेरी चयन गर्न र सुरक्षित लगानी सुनिश्चित गर्न एक्स्पो उत्कृष्ट ‘साझा मञ्च’ हुने व्यवसायीहरुको भनाइ छ।

प्रदर्शनी ६५ हजारभन्दा बढी मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ।

पत्रकार सम्मेलनमा व्यवसायी दीपक मल्होत्राले बाढी प्रभावितहरु समेतलाई लक्षित गरेर प्रदर्शनी गर्न लागेको बताए।

‘बाढीपीडितलाई पनि फोकस गरेर यो एक्स्पो गर्न लागेका हौं। उनीहरुलाई सरकारले भन्सार सुविधासहित राहत प्याकेज घोषणा गरेको छ। सस्तो र महँगो घर प्रदर्शनी हुन्छ। बाढी पीडितले अब कस्तो ठाउँमा घर बनाउने भन्ने परामर्श दिने काम पनि मेलामा हुन्छ,’ उनले भने।

व्यवसायीहरुले सरकारले घरजग्गा व्यवसायलाई उपेक्षा गरेको गुनासो गरे। ‘रियल इस्टेट व्यवसायीलाई अहिले मुस्किल छ। प्रधानमन्त्रीले हामीलाई डेट दिएर पनि बोलाउनु भएन। कम प्राथमिकता भएर हो कि। राष्ट्र बैंकको नजरमा पनि हामी प्राथमिकतामा परेका छैनौं। तर घरजग्गा व्यवसाय शिथिल हुँदा चेन नै ठप्प छ,’ मल्होत्राले भने, ‘जबसम्म रियल इस्टेट व्यवसायी चलायमान हुँदैन, अरु व्यवसाय पनि चल्दैन।’