काठमाडौं। नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा ओमनलाई ८७ रनले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटिएको थियो। नेपालको ब्याटिङमा कमजोर प्रदर्शनका बावजुद बलिङमा प्रभावशाली प्रदर्शन गर्दै खेलमा फर्कन सफल भयो।
सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको ओमन २८.१ ओभरमा ६० रनमा समेटियो। ओमनका लागि जतिन्दर सिंहले २५ तथा जितेन रामनन्दीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन नै जोड्न सकेनन्।
बलिङमा नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिँदा ललित राजवंशी र रोहित पौडेलले समान २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएर अलआउट भएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याए पनि अन्य ब्याटर चल्न सकेनन। ऐरीले सर्वाधिक ५१ रन बनाउँदा बसीर अहमदले ४७ रन बनाए।
अन्य कुनै ब्याटरले १५ रन पनि पुर्याएनन्। यसका बावजुद नेपाल बलिङको भरमा खेल जित्न सफल भयो।
नेपाललाई धराशायी बनाउन ओमनका जय ओडेरा र हसनयन शाहले समान ३ विकेट लिँदा मोहम्मद इमरानले २ तथा सकिल अहमद र मुजिबुर अलीले समान १ विकेट लिएका थिए।
नेपालले अब फाइनलमा यूएईसँग खेल्नेछ। यूएईले आजै सम्पन्न अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ। अब, यूएईलाई हराउन सके नेपाल एसिया कपमा पुग्नेछ।