BIZMANDU
www.bizmandu.com

प्रसारण लाइनको तार छुँदा घाइते भएकी सुर्खेतकी बालिकालाई १३ लाख ८१ हजार क्षतिपूर्ति

२०८३ भदौ २५

प्रसारण लाइनको तार छुँदा घाइते भएकी सुर्खेतकी बालिकालाई १३ लाख ८१ हजार क्षतिपूर्ति
प्रसारण लाइनको तार छुँदा घाइते भएकी सुर्खेतकी बालिकालाई १३ लाख ८१ हजार क्षतिपूर्ति


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई पौने १४ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणको सञ्चालक समितिको बुधबार बसेको बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका-२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

रश्मी नुहाएर घर फर्कने क्रममा विद्युत्‌को तार छुन पुगी सख्त घाइते भएकी थिइन्। उनको विभिन्न अस्पतालमा उपचार गराइएको थियो। प्राधिकरणले उपचार गराउँदा तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो।

प्राधिकरणले आफ्नो विनियमावलीअनुसार रश्मीलाई अब १० लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति दिनेछ। रश्मी टीकाराम जैसीकी छोरी हुन्।

घाइते कर्मचारीलाई पौने २० लाख

प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई पौने २० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिवापत उपलब्ध गराउने निर्णय गरेको हो ।

प्राधिकरणले मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका-१० आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय शेरबहादुर मगरलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरको हो। मगर १५ केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने गत चैत ११ गते करेन्ट लागेर घाइते भएका थिए। उनको उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो।

प्राधिकरणको विद्युत क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिएका थिए।