BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीले ढल्यो व्यापारिक साम्राज्य, पाँच घरका धनीलाई खान अन्न न बस्न ओत

२०८३ भदौ २५

भोटेकोशी बाढीले ढल्यो व्यापारिक साम्राज्य, पाँच घरका धनीलाई खान अन्न न बस्न ओत
default


काठमाडौं। त्रिशूली बजारमा धनबहादुर श्रेष्ठको कस्मेटिक फेन्सी थियो। तीज र दसैंका लागि भनेर ठूलो स्टक झिकाउँदै उनले भदौ पहिलो हप्ता नै आफ्नो पाँचतले घर भरीभराउ पारेका थिए। थोकसँगै खुद्रा बिक्रीको चाप सुरु पनि भइसकेको थियो।

Vigo
GBIME
Tata

भदौ १० गते बिहान बाढीको सूचना आएको बेला धनबहादुर सुरुवाल र गन्जीमा पसलमा थिए। हतारहतार सर्ट बोकेर चप्पल लगाउँदै उनी सुरक्षित स्थानमा भागे। हेर्दाहेर्दै धनबहादुर परिवारको पाँच वटा पक्की घर बाढीले निल्यो।

घरमा रहेका कस्मेटिक सामान कति बगे, हिसाबै छैन। ‘नौ करोडको सामान थियो। दसैं र तीजका लागि भनेर ल्याएको। गरगहना, पैसा केही झिक्न पाइन,’ धनबहादुरले भने, ‘हातमा एउटा फोन थियो। त्यही लिएर दौडेको थिएँ। अहिले यतिमै सडकमा छु।‘

धनबहादुर श्रेष्ठ
बाढीपछिको अवस्था

बाढीमा परी १७ रोपनी जग्गा पनि बगर बन्यो धनबहादुरको। ‘कारागारभन्दा मुनि १५ रोपनी खेत थियो मेरो। ५० मुरी धान फल्थ्यो। नयाँ बस्तीमा २ रोपनी थियो,’ उनले भने।  बाढीले उनको ४० करोड बराबरको घरजग्गा र सामान बगायो।

करोडौंको व्यवसाय गर्ने धनबहादुर हिजोआज फोन आउँदा सहयोग पो पाइन्छ कि भनेर आशाको त्यान्द्रो बोकर फोन उठाउँछन्। ‘अहिले खाने अन्न छैन। साथीकोमा शरण लिइरहेको छु। सहयोग पाइए मिलाइदिनुहोला,’ धनबहादुर याचना गर्छन्।

त्रिशूली र तादीको दोभानमा वर्षौंदेखि फस्टाएको देवीघाट बजार अब त्यही दुई नदीको बाढीले चिनेको ठाउँजस्तो छैन। जहाँ दुई नदी मिसिन्थे, त्यहाँ अहिले बजारका घर, पसल र व्यवसायको भग्नावशेष छ।

उद्योग वाणिज्य महासंघ नुवाकोटका सदस्य रामशरण वस्तीको पनि बिजोग धनबहादुरको जस्तै छ। देवीघाटमा उनको खाद्यान्नको ठूलो पसल थियो, न्यु जाल्पादेवी खाद्य सप्लायर्स। बाढीले उनको घर र स्टोर निलेको छ।

दुई दशकको कमाइको जेथासँगै व्यवसाय बाढीले एकै निमेषमा निल्दा अहिले आफू शून्यमा भएको वस्तीले बताए। ‘२२ वर्ष भयो यहाँ व्यवसाय थालेको। अहिले जिरो भइयो। म योभन्दा बोल्न सक्दिनँ,’ वस्ती भावुक सुनिए।

रामशरण वस्तीको स्टोर रहेको क्षेत्र
बाढीपछिको देवीघाट बजार

नुवाकोट उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाका अनुसार वस्तीको स्टोर चल्तीको देवीघाटमा ताम्रो कारोबार गरिरहेको ठूलो सप्लायर्स थियो। उनले भने, ‘बाढीले उनको सर्वस्व गुमेको छ। घर र खाद्य स्टोर गरी उनले १० करोड बढी गुमाएका छन्।’

हरिकृष्ण डंगोलको वेत्रावतीमा मदिराको राम्रै डिलर थियो। बाढीले उनको पसलको एउटा चिनो पनि राखेको छैन। उनी श्रीमती पनि बगेर वेपत्ता छिन्। वाणिज्य महासंघका अनुसार ५० करोडभन्दा बढीको सम्पत्ति बगाएको छ। ‘कोकाकोला, टुबोर्ग बियर, ह्विस्कीहरुको डिलर थियो। सबैभन्दा राम्रो घर थियो। ४ वटा घर बगाएको छ। १३ करोडजतिको घर। २५ करोडको त स्टोर नै थियो भन्ने छ। असारमा सामान ल्याएर दसैंको लागि राखेको थियो,’ महासंघका पूर्वअध्यक्ष सापकोटाले भने, ‘जग्गाको मूल्य के कुरा गर्नु !’ देवीघाट र वेत्रावतीमा लामो समयदेखि व्यापार गरिआएका अधिकांशलाई बाढीले सखाप पारेको उनले सुनाए।

११ दिनमा उद्धार भएको वेत्रावतीकी चण्डिका श्रेष्‍ठ कपडा व्यवसायी हुन्। उनी आफ्नै पाँचौ तल्लाबाट उनको उद्धार गरिएको हो। बाढीमा परी उनको श्रीमान आनन्द श्रेष्ठ बेपत्ता छन्। घर र कपडा पसल गरी चण्डिकाको ६ करोडभन्दा बढी सम्पत्ति बाढीले निलेको छ।

बाढी प्रभावित नुवाकोटको विदुर-१ ढुंगेबजार। फाइल तस्बिर : रासस

त्रिशूली बजारमा सुन्दर र भव्य पसलमध्येको थियो सुजिम बजार मार्ट। स्थानीयका लागि यसले काठमाडौंमा किनमेलको तिर्सना मेट्थ्यो, पर्यटकका लागि किनमेलको सहज ठाउँ थियो। बजारमा ठूलो, फराकिलो र सुन्दर घरमा थियो मार्ट। बाढी आउँदा बजारमा धेरै मान्छे ज्यान जोगाउन मार्टमा उक्लिएका थिए।

शरण लिएकालाई बाढीले बगायो नै, मार्ट पनि बाँकी राखेन। सुजिम मार्टका प्रबन्ध निर्देशक सुजिम श्रेष्ठ बाढीले पाँच तले घर र साढे दुई करोडको स्टक सामान बगाएको बताउँछन्। ‘स्टकमात्र एक करोडको थियो। अपरेटिङ सामानहरु ५० लाखभन्दा बढीको थियो,’ उनले भने।

त्रिशुली बजारको सुजिम मार्ट। फोटो स्न्याप : गुगल म्याप

सुजिम बजार मार्ट सुजिमका काकाकाकी जितेन्द्रमान श्रेष्ठ र शान्तमाया श्रेष्ठको नाममा छ भने घर सुजिमकै थियो। ‘बिल्डिङ भएको ठाउँमा नदी बगिरहेको छ। ४ आना जग्गामा बनेको घर कता हो थाहा छैन। ढुंगेमा ५ आना जग्गा छ। त्यो पनि नदीमै मिसिएको छ,’ सुजिमले भने।

सुजिम बजार यो दसैंमा विदुर र बट्टारमा विस्तार हुने क्रममा थियो। तर ‘अहिले बिक्रीको एउटा चेन नै ध्वस्त भएको अवस्थामा रिभाइभ गर्न निकै मुस्किल हुने’ उनी बताउँछन्।

‘स्याफ्रु, धुन्चे क्षेत्रमा हाम्रो वितरण र रिटेलको बजार थियो। अहिले यो चेन भत्किएको छ। आँखैमा झलझली आउने कन्जुमरहरु हुनुहुन्न। कसरी रिभाइभ गर्छ सरकारले?,’ सुजिम भन्छन्, ‘जाने गइसके। बाँचेकालाई कसरी बचाउने भन्ने लिडरसिप क्वालिटी स्थानीय सरकारमा छैन।‘

बाढीले तहसनहस पारेको वेत्रावती।

नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष धननारायण चित्रकारले बाढीमा आफ्नो २० करोड रुपैयाँ बराबरको सम्पत्ति बगेको बताए। चित्रकारको ५ करोड बराबरको व्यवसाय र १५ करोड मूल्य पर्ने जमिन बाढीले बगाएको छ। नुवाकोटको बट्टार बजारमा पोल्ट्री व्यवसाय सञ्चालन गर्दै आएका चित्रकारको २५ हजार कुखुरासमेत बाढीले बगाएको छ।

बाढीमा १ हजार १ सय ४७ जना व्यवसायी प्रभावित बनेको वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। बैंकका शाखामात्रै ७ वटा बगेको छ।

व्यवसायी शोकमा रहेकोले अहिले तथ्यांक लिन सकिने अवस्था नरहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। ‘एक्चुअल क्षति आएको छैन। त्रिशूली, बेनीघाट, बेत्रावतीमा ठूलो क्षति पुगेको छ। बजार उठ्नै नसक्नेगरी बगाएको छ,’ उनले भने, ‘केही गरौं भन्ने व्यवसायीलाई न घर छ न त सटर छ।‘