काठमाडौं । बालाजु औद्योगिक क्षेत्रबाहिर आजकाल बिहानै मानिसहरू ग्यास सिलिन्डर लिन लाइन बस्न पुग्छन्। पुग्नेहरू दिनभर ग्यासको मात्रै कुरा गरिरहेका हुँदैनन्, उनीहरूलाई अर्को पिरले पनि सताएको छ। त्यो हो बजारमा ह्वात्तै बढेको महंगी।
‘ग्यास सिलिन्डर त जसोतसो लिएर चलाउन समस्या भएन। तर, महंगिएको भान्साको समाधान हुने अवस्था छैन,’ एक युवा लाइनमा बसेर कुरा गर्दै थिए।
अहिले बजारमा जता गयो उतै महंगी बढेको सर्वसाधारणले प्रत्यक्ष अनुभव गरेका छन्। गत वर्षको तुलनामा दैनिक उपभोग्यको खाद्यवस्तुको भाउ अत्यधिक बढेको भन्दै उनीहरूको आक्रोश सडकमै पनि पोखिन थालेको छ।
गत वर्ष भदौ महिनामा खाद्यान्नको मूल्य र अहिले भदौमा भाउ हेर्ने हो भने भान्सा र गोजी दुवैमा सकस परेको प्रस्टै देखिन्छ। खाद्यान्नसँगै अण्डा ,मासु , तेल. चिनीको मूल्य बढिरहेको छ। त्यति मात्रै हो र, प्याकेटका खाद्य सामाग्री, बेकरी आइटमदेखि फलफूल र औषधिको मूल्य समेत छोइनसक्नु भएको छ।
झम्सिखेलमा प्रख्यात बेकरी क्याफे सञ्चालन गरिरहेका एक जनाले भने, ‘हाम्रोमा कुकिजको मूल्य प्रति प्याकेज ५० रुपैयाँ बढेको छ। पोहोर १५० थियो अहिले २०० छ। अधिकांश सामानको भाउ त्यस्तै छ।’
बजारमा खाद्यान्नको मौज्दात नभएर मूल्य बढेको भने होइन। रसुवा बाढीपछि पृथ्वी राजमार्ग बन्द भएको कारण देखाउँदै भाउ बढाउन थालिएको हो। बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रणमा सरकारी पक्षको उदासीनता देखिन्छ।
भदौ १० गतेअघि चामलको भाउ बोरामा ५० देखि १०० सस्तो भएको किराना व्यवसायीहरूले बताएका थिए। तर, रसुवा बाढीपछि राजमार्ग बन्द भएको कारण देखाएर खाद्यान्नको भाउ अचाक्ली बढाइएको छ।
पोहोर साल थोक बजारमा जिरा मसिनो चामल बोराको १ हजार ९०० रुपैयाँ थियो। बाहिर बजारमा प्रति बोरा २२ सय पर्ने जिरा मसिनो चामल यति बेला २६०० रुपैयाँभन्दा बढी पुगेको छ।
त्यस्तै, गत वर्ष साल्ट ट्रेडिङमा प्रति केजी १०० रुपैयाँ रहेको चिनी अहिले प्रतिकेजी १०५ रुपैयाँ छ। सरकारी कम्पनीमा त्यही चिनीको भाउ १०९ रुपैयाँ हुँदा बाहिर बजारमा प्रति केजी १२० देखि १३० रुपैयाँसम्म छ।
‘कालोबजारीहरूले कतै कतै १५० रुपैयाँसम्म पनि लिने गरिएको छ,’ एक व्यापारीले भने।

त्यस्तै, खाने तेल सूर्यमुखी कार्टुनको ३००० रुपैयाँ पुगेको छ। पोहोर कार्टुनको २४०० रुपैयाँ थियो। खुद्रा बजारमा उपभोक्तालाई अहिले प्रति लिटर ३०० देखि ३२० रुपैयाँ छ। पोहोर प्रति लिटर २५० रुपैयाँ थियो।
बर्डफ्लूले केही समय सुस्ताएको अण्डा व्यापार अहिले फेरि बढिरहेको छ। सँगसँगै मूल्य पनि बढेको छ। पोहोर यही समयमा प्रति क्रेट ५०० रुपैयाँ रहेको ठूलो अण्डा यति बेला प्रति क्रेट ५९० रुपैयाँ भएको छ। गत वर्ष प्रति क्रेट ४५० रहेको मिडियम अण्डा अहिले ५५० रुपैयाँ पुगेको छ।
ब्रोइलर कुखुराको मासुको मूल्य गत वर्ष यही बेला ३६० रुपैयाँ रहेकोमा अहिले प्रति केजी ४ सय रुपैयाँ भएको छ। खसीको मासु पनि किलोको ४०० देखि ५०० रुपैयाँ बढेको छ। पोहोर १२०० रुपैयाँ रहेको खसीको मासु अहिले प्रतिकिलो १७०० रुपैयाँ छ।
त्यस्तै, व्यवसायीहरूका अनुसार बजारमा दाल गेडागुडीको भाउ पोहोरभन्दा केजीमा १० देखि १५ रुपैयाँ बढेको छ।

बालाजुस्थित सिजन एग्रो प्याकेजिङका सञ्चालक ईश्वर श्रेष्ठले राजमार्ग अवरोधको कारण देखाएर बजारमा भाउ बढ्न थालेको बताए।
‘हाल चिनीको भाउ धेरै बढेको छ। बजारमा चिनीको पुरै अभाव होइन। भाउ मात्रै महंगिएको हो,’ उनले भने, ‘बाटोको कारण भाडा दोब्बर भएको भन्दै भाउ बढिरहेको छ।’
उनका अनुसार तेलको मूल्य थोक बजारमा २९० रुपैयाँ र तोरीको तेलको लिटरको २७० रुपैयाँ छ। गत वर्ष यही अवधिको तुलनामा खाद्यान्नको मूल्य महंगो भएको सञ्चालक श्रेष्ठले स्वीकारे।
बानेश्वरमा रहेको सुनादेवी किराना स्टोरका सञ्चालक समर कठायत भने चिनी पर्याप्त नहुँदा भाउ बढेर १२० रुपैयाँ पुगेको बताउँछन्।
‘तेलको मूल्य कार्टुनमा १०० रुपैयाँ बढेको छ। सूर्यमुखी तेल कार्टुनको २९०० रुपैयाँ पर्नेमा अहिले बढेर ३००० रुपैयाँ भएको छ।सोयाबिन तेल पनि २९५० देखि ३००० पुगेको छ। २४०० रहेको चामलको मूल्य यति बेला बढेर २६०० रुपैयाँ पुगेको छ,’ उनले भने।
अब दसैं आउन करिब एक महिना बाँकी छ। त्यसपछि चाडपर्वको लर्को नै लाग्छ। हरेक वर्ष चाडपर्वको समयमा खाद्यान्नको मूल्य बढ्ने नियमित प्रक्रिया जस्तै हो। तर, यस पटक त्यो प्रक्रिया बजारले ‘फलो’ गरेको छैन।
‘पहिला भाउ केही बढ्ने गर्थ्यो,’ उनले भने ,’यस पटक बजारमा विविध कारण देखाउँदै भाउ महंगो बनाउने गरिएको छ।’
साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्वल प्रधान पनि गत वर्षको भन्दा यस वर्ष खाद्यान्नको भाउ बढेको बताउँछन्।
‘गत वर्षको तुलनामा यसपालि भाउ बढेको छ। पोहोर साल प्रति बोरा रहेको जिरा मसिनो चामल अहिले २६ सय रुपैयाँ पुगेको छ। गत वर्ष प्रति लिटर २५० रुपैयाँ रहेको सूर्यमुखी तेल बढेर प्रति लिटर ३०५ रुपैयाँ भएको छ।’
उनले ढुवानी महंगो हुँदा बजारमा मूल्यवृद्धि भएको बताए।
‘बजारमा अनुगमन गर्न जरुरी छ। मूल्यवृद्धि दिनप्रति दिन बढिरहेको छ। अब अनुगमन भएन भने उपभोक्ता थप महंगीमा पर्ने देखिन्छ,’ प्रधानले भने।

चाडपर्व ढोका नजिकै आइपुग्न लाग्दा बजारमा सामानको माग बढ्दो पनि छ। तर, विपद्लाई देखाउँदै चाडपर्व नजिकिइरहेको बेला बजारमा मौका छोपेर थोक देखि खुद्रा बजारसम्म भाउ बढिरहेको छ।
चिनीको मूल्यमा कालोबजारी सबैभन्दा बढी हुन थालेको किराना व्यापारीले बताएका छन्।
‘गत महिनासम्म प्रति केजी ११० रुपैयाँमा पाइने चिनी यति बेला भाउ बढेर १२० भएको छ। ठाउँअनुसार रेट फरक रहेको छ।बजारमा चिनी अभाव हुने भन्दै माग बढ्न थालेपछि प्रति केजी १५० रुपैयाँ समेत लिने गरेको पाइएको छ,’ ती व्यवसायीले भने।
बजारमा खाद्यान्न, तरकारीदेखि धेरै सामाग्रीको मूल्य बढ्दा पनि सरकारको तर्फबाट कुनै पनि हस्तक्षेप हुन नसकेको भन्दै आम उपभोक्ताहरूले गुनासो गरिरहेका छन्। तर, जमिनी वास्तविकतामा भने आम उपभोक्ताको भान्सा महंगिँदै गएको विषयले भने सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ।
झम्सिखेलमा भेटिएका उपभोक्ता भन्छन्, ‘सरकार सामाजिक सञ्जालमा सीमित भएको जस्तो देखियो। बजारमा चरम महंगी छ। सुशासन सामाजिक सञ्जालमा मात्रै देखियो। बजारमा अनुगमन गरेर मूल्यवृद्धि नियन्त्रणको प्रयास भएको देखिएन।’