काठमाडौं। पूर्वऊर्जामन्त्री कुलमान घिसिङ भदौ १० गतेको बाढीले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरुको उद्धारमा सघाउन आयोजनास्थलतर्फ लागेका छन्।
उनी नेपाली सेनाले सहयोग मागेपछि बुधबार रसुवागढीस्थित आयोजनास्थलतर्फ लागेका हुन्। चिलिमेको सुरुङभित्र फसेकाहरुको उद्धारमा सघाउन सेनाले बोलाएकाले कुलमान रसुवातर्फ हिंडेको उनका एक सहयोगीले जानकारी दिए।
सेनाले कुलमानसँग विदेशी विज्ञसहितको टोलीलाई पावर हाउसभित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव मागेको छ।
कुलमान चिलिमे जलविद्युत आयोजनाका पूर्वप्रमुख हुन्। उनले नेपाल विद्युत प्राधिकरणमा रहँदा चिलिमे आयोजनाको प्रमुखका रुपमा काम गरेका थिए। चिलिमेमा ६ जना कर्मचारी फसेको प्राधिकरणले बताउँदै आएको छ।