मुस्ताङ। भोटेकोशीमा बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म ५६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ।
रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ। कोरला नाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी)को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए।
दैनिक १५ वटासम्म विद्युतीय सवारी र १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरला नाकाबाट भित्रिएको छ।
भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्टेनरको भन्सार जाँचपास गरिएको थियो। ४० दिनमा ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो।
सो भन्सार कार्यालयले हालसम्म १ अर्ब ८ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। आव २०८२/८३ मा मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। रासस