काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि पौने ११ अर्ब रुपैयाँ सहयोग जुटेको छ।
दुई साताको अवधिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० अर्ब ७८ करोड रुपैयाँ सहयोग संकलन भएको हो। त्यसमध्ये ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर मंगलबार प्राप्त भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।
अर्थमन्त्रीको सचिवालयका अनुसार भोटेकोशी बाढीपछि मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा खातामा ७ अर्ब ६८ करोड ४४ लाख र २ करोड ५ लाख २२ हजार ४२३ डलर प्राप्त भएको छ। यसमध्ये सबैभन्दा धेरै १ अर्ब २६ करोड ५ लाख लाख रुपैयाँ १२ गते प्राप्त भएको हो।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भोटेकोशी बाढीअघि २ अर्ब ८ करोड २४ लाख मौज्दात थियो।
सरकारले बाढी प्रभावितको राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब निकासा गरेकामा अहिले ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको स्वर्णिमको सचिवालयले जनाएको छ।