काठमाडौं। नेपाली क्रिकेट टोली हङकङसँग पराजित भएको छ। एसीसी प्रिमियर कप अन्तर्गत मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर हङकङ ब्याटिङमा उत्रिएको थियो। उसले निर्धारित ५० ओभरमा बाबर हयातको शतकीय इनिङ्सको सहायतामा २६१ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल पाँच बल बाँकी छँदा २४६ रनमा समेटियो।
शीर्ष ब्याटर अर्जुन कुमाल, देव खनाल र रोहित पौडेलले कमजोर ब्याटिङ गर्दा इनिङ्स अघि बढाउने जिम्मेवारी इशान पाण्डेले लिए।
उनले टोलीका लागि सर्वाधिक ९० रन र आशिफ शेखले ४४ रन बनाए। करण केसीले इशानसँग मिलेर इनिङ्स उकास्ने लक्षण देखाएका थिए। इशान र करणले २४ बलमा ४० रनको साझेदारी गरेर लक्ष्यको दूरी घटाउन सफल भए। तर, नेपाल फेरि एकपटक फिनिसिङमा चुक्यो। इनिङ्सको ५ बल बाँकी छँदै नेपाल अलआउट भयो।
त्यसअघि ब्याटिङ गरेको हङकङले यस्तै अफ्ठेरो स्थितिबाट कमब्याक गरेको थियो। ३०.५ ओभरमा १३३-७ को अफ्ठेरो स्थितिमा पुगिसकेको हङकङले सानदार मोमेन्टम बनाउँदै ५० ओभरमा २६१-७ सम्म पुगेको थियो। यही कन्सिस्टेन्सीमा नेपाल चुक्यो।
उसका लागि बाबर हायातले अविजित ११७ र शाहिद वासिफले ४५ रन बनाए। यस्तै एहसान खानले अविजित ३५ रन जोडे।
बलिङमा नेपालका सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट लिए पनि हङकङलाई रोक्न सकेनन्।
नेपालले अब सेमिफाइनलमा ओमनसँग खेल्नेछ। ओमन समूह ‘बी’को उपविजेता हो भने नेपाल समूह ‘ए’को विजेता हो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबबियालाई हराएको थियो। सेमिफाइनलको अर्को खेलमा यूएई र हङकङ भिड्नेछन्।