काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको भावनाबाट एक इन्च पनि विचलित नहुने बताएका छन्।
जेनजी खवसका अवसरमा उनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी नवयुवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा अहिले रास्वपा रहेको भन्दै जेनजी आन्दोलनको भावनाबाट एक इन्च पनि विचलित नहुने बताएका हुन्।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौं भन्ने दृढ संकल्प व्यक्त गर्दछु।’
रविले सरकारका कामको निरन्तर निर्मम समीक्षा गर्न आग्रह गरेका छन्।
‘आन्दोलनले एउटा जबर्जस्त सन्देश दियो- यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन। त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो संकुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन,’ उनले भनेका छन्, ‘यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस्। तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ।’