काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)मा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो खेल दिउँसो ४ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ७ बजे सुरु हुनेछ।
आजको पहिलो खेलमा तालिकाको पुछारका दुई टोली खप्तड फाल्कन र मधेश वारियर्स भिड्नेछन्। मधेशले हालसम्म तीनवटा खेल खेल्दा सबैमा हार बेहोरेको छ।
मधेशले पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग, दोस्रो खेलमा काठमाडौं रेड्सँग र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर्ससँग हार ब्यहोरेको थियो। त्यस्तै, दुई खेल खेलेको खप्तडले पनि जित निकाल्न सकेको छैन। दुबै खेलमा सोझो सेटमा हार बेहोरेको उसको खातामा कुनै अंक छैन भने मधेशले एक खेलमा चौथो सेटसम्म पुगेर अंक भने जोडेको छ। खप्तडले पनि सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजसँग हार बेहोरेको छ।
अर्कोतर्फ दोस्रो खेलमा सगरमाथा स्म्यासर्सले काठमाडौं रेड्ससँग खेल्नेछ। जारी प्रतियोगिताको फाइनल पुग्ने प्रबल दाबेदारमध्येको एक सगरमाथाले तीन खेल खेल्दा दुई वटामा जित निकालेको छ।
गएराति सम्पन्न तेस्रो खेलमा पनि कर्णाली शिवराजलाई अन्तिम प्वाइन्टमा चुनौती दिएर ३-२ ले पराजित भएको थियो। त्यसअघि उसले मधेश र खप्तडलाई हराएको थियो। अंकतालिकामा सगरमाथा ७ अंकसहित दोस्रो स्थानमा छ। शीर्षस्थानमा ८ अंक बनाएको अपराजित कर्णाली छ। आजको खेल जित्नसके सगरमाथा फेरि शीर्षमा उक्लन सक्छ।
काठमाडौं रेड्को प्रदर्शन पनि कमजोर छैन। उसले दुई खेल खेलेको छ जसमा एउटामा जित र अर्कोमा हार ब्यहोरेको छ। अन्य टोलीले सोझो सेटको जित/हार निकालिरहँदा काठमाडौंको दुबै खेल निकै प्रतिस्पर्धात्मक बनेका थिए। सगरमाथालाई हराउन सके अंकतालिकामा बलियो उपस्थिति बनाउने अवसर उसलाई छ। काठमाडौंले यसअघि मधेशलाई हराएको थियो भने अन्नपूर्णसँग पराजित भएको थियो।