विराटनगर। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले रसुवा नाका कोल्याप्स भएको र चीनले तातोपानी नाका पनि बन्द गरेको मौका उठाउँदै ढुवानी व्यवसायीले कन्टेनरको भाडा दोब्बर बनाएका छन्।
व्यवसायीले दुई नाका बन्द भएपछि मुस्ताङबाट काठमाडौंसम्म एक कन्टेनरको भाडा चार लाख पुर्याएका छन्। यसअघि यो रुटमा कन्टेनरको भाडा दुई लाख रुपैयाँ मात्रै थियो।
चीनबाट स्याउ आयात गर्दै आएका विजय अग्रवालले मुस्ताङदेखि काठमाडौंसम्म एक कन्टनेर ल्याउँदा चार लाख भाडा तिर्नुपरेको तर भनेका बेला नपाइएको जानकारी दिए।
‘बाढी आउनु पहिला मुस्ताङ-काठमाडौंको भाडा डेढदेखि दुई लाख रुपैयाँ हो। अहिले चार लाख पुगिसकेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘कन्टेनरको भाडा अहिले सट्टे बजारजस्तो भएको छ। मैले साढे तीन लाख दिए भने अर्कोले चार लाख दिइरहेको छ। यस्तो अवस्थामा तत्कालै सरकारको हस्तक्षेप आवश्यक छ।’
गृह मन्त्रालयले तत्कालै सूचना जारी गरेर भाडा बढी नअसुल्न निर्देशन नदिए यसले उपभोक्तामा महँगीको भार पर्ने व्यवसायीहरुको भनाइ छ
‘ढुवानी व्यवसायीले मनपरी भाडा भनिरहेका छन्। सामान चाँडो ल्याउने चाहनामा व्यवसायीले महँगो भाडा तिरिरहेका छन्,’ अग्रवालले भने, ‘हामीले अहिले महँगो भाडा तिरेर ल्याएपछि त्यसको लागत उपभोक्तामै जोड्ने हो। त्यसैले जथाभावी भाडामा सरकारले तत्कालै हस्तक्षेप गर्न आवश्यक छ।’
व्यवसायीहरुका अनुसार भोटेकोशीको बाढीले २०० कन्टेनर बगाएको थियो। त्यसैलाई कारण देखाएर ढुवानी व्यवसायीले भाडा आफूखुशी बढाएका हुन्। तर, इन्धनको मूल्य नबढेको अवस्थामा ढुवानी भाडा अकस्मात बढाइनुलाई व्यवसायीहरुले जायज मानेका छैनन्। ‘भोटेकोशी बाढीले कन्टेनर बगाएका कारण अभाव भएको सत्य हो। तर, त्यही बहानामा अरुले भाडा बढाउनु न्यायोचित होइन,’ उनले भने।
सामान्यतया फलफूल ४० फिटको कन्टेनरमा आयात गरिन्छ। तर, यो कन्टेनर ४०० किलोमिटरको पहाडी मार्ग छिचोलेर काठमाडौँमा ल्याउन सम्भव हुँदैन। त्यसैले ४० फिटे कन्टेनरको सामानलाई नाकामै तीन वटा नेपाली नम्बरका साना कन्टेनरमा पल्टी गर्नुपर्छ। यस्तो कन्टेनरमा फलफूल ९ टन अट्छ। यही सानो कन्टेनर जसलाई नेपाली व्यवसायीले डब्बा वा बट्टा पनि भन्ने गर्छन्।
व्यवसायीहरुका अनुसार पानीजहाजबाट ल्याउने भाडा पनि महँगो भइसकेको छ। सामुद्रिक मार्गबाट कोलकाता बन्दरगाह हुँदै नेपाल आइपुग्ने समानको ढुवानी खर्च पनि ६० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
चीनबाट नेपालमा सामुद्रिक मार्ग हुँदै आयात हुने स्याउ, सुन्तला, ड्र्यागन फ्रुट्स, किबी लगायत फलफूल छिन्दाउ बन्दरगाहबाट ल्याउनुपर्छ।
‘सामुद्रिक मार्गबाट सामान्यतया ४० फिटे कन्टेनरमै ताजा फलफूल आयात हुन्छ। बाढीअघि यस्तो कन्टेनर ल्याउँदा छिन्दाउदेखि कोलकाता बन्दरगाहसम्मको एक कन्टेनरको ढुवानी खर्च २ हजार ७०० देखि ३ हजार डलरसम्म थियो। अहिले ५ हजारदेखि ५ हजार २०० डलरसम्म पुगिसकेको छ, अग्रवालले भने।
उनका अनुसार ढुवानी खर्च त अकासिएकै छ, त्यसमा पनि भनेका बेला कन्टेनर र जहाज नपाइने समस्या छ। त्यसैले सिपिङ लाइनर र जहाज कम्पनीले जति भन्यो त्यति तिर्नुपर्ने बाध्यता छ।
धेरैजसो जहाज र कन्टेनर नेपालका अटोमोबाइल कम्पनीले ओगटेपछि अन्य उपभोग्य सामग्री, जुत्ता, कपडा र फलफूल आयातकर्तालाई सामुद्रिक ढुवानीका साधन पाउन कठिन भइरहेको व्यवसायीको भनाइ छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नेपालका लागि सांघाईबाट कोलकाता बन्दरगाहसम्म आउने कन्टेनरको पनि ढुवानी खर्चमा ६० प्रतिशतसम्म वृद्धि भएको बताए।
बाढी अघिसम्म सांघाईबाट कोलकाता बन्दरगाहसम्मको २० फिटे कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २२०० डलरसम्म पर्ने गरेकामा अहिले बढेर ३ हजारदेखि ३५०० डलरसम्म पुगिसकेको छ।
सोही रुटमा ४० फिटे कन्टेनर ढुवानी गर्दा बाढीअघि प्रति कन्टेनर २८०० देखि ३ हजार डलर रहेकामा अहिले ४ हजार देखि ४२०० सम्म पुगेको छ। मूल्यवृद्धि सँगै कन्टेनर नै नपाइने समस्याले पनि सताउन थालेको छ।
‘हरेक दिन मूल्यवृद्धिको कुरा सुनिन्छ। प्रति दिन जहाज र कन्टेनरको ढुवानी खर्च बढिरहेको छ। कहिलेकाहीँ त बिहान एउटा र साँझ अर्को रेट आउँछ,’ अध्यक्ष राठीले भने।
चीनको व्यापारिक केन्द्र सांघाईबाट नेपालमा जुत्ताचप्पल, रेडिमेड गार्मेन्ट र इलेक्ट्रोनिक सामान आयात गरिन्छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले तातोपानी नाका छिटोभन्दा छिटो खोल्न सरकारले चीनसँग कूटनीतिक पहल गर्नुपर्ने बताए।
‘उता चीनले ट्र्याक खोलिसकेको छ। हामी रेस्क्युकै चरणमा छौं। रेस्क्यु पहिलो प्राथमिकता नै हो। तर, मुख्य नाका कोल्याप्स भएको अवस्थामा अर्को नाका पनि बन्द हुँदाको असर देखिइसकेको छ। त्यसैले सरकारले तातोपानी नाका खुलाउनका लागि कुटनीतिक पहल गर्न ढिला गर्नु हुँदैन,’ अध्यक्ष अग्रवालले भने।
काठमाडौंबाट तातोपानी ११३, रसुवा १८६ र कोरला नाका ४ सय किलोमिटरभन्दा बढी दूरीमा पर्ने भएकाले तातोपानी नाका तत्काल खोल्न लगाउनुपर्ने उनको भनाइ छ।
‘तातोपानीबाट एक कन्टेनर सामान काठमाडौं ल्याउन ७५ हजारदेखि १ लाख भन्दा धेरै भाडा लाग्दैन। कोरलाभन्दा धेरै सस्तो पर्छ,’ उनले भने।
अग्रवालका अनुसार चीनका सांघाई, ग्वान्जाओ, छिन्दाउ जस्ता मुख्य व्यापारिक केन्द्रका अतिरिक्त भित्री बजारबाट पनि ठुलो मात्रामा सामान आयात हुने गरेको छ।
कोरलास्थित मुस्ताङ भन्सारका प्रमुख विदुर चुडालले ढुवानीका साधन नपाएर भन्सार परिसरमा आयातित वस्तु थन्किएको आफ्नो जानकारीमा नभएको बताए।
चुडालका अनुसार २/३ दिनको विदाको कारणले केही कन्टेनर होल्ड भएका थिए। ‘ती पनि सोमबार साँझसम्म सबै क्लियर भएका छन्,’ उनले भने।
चुडालले आइतबार मुस्ताङमा प्लान्ट क्वारेन्टाइनको कार्यालय पनि स्थापना भइसकेको हुँदा अब कृषिजन्य वस्तु जाँचपासमा पनि कुनै समस्या नरहेको बताए।