काठमाडौं। सरकारी स्वामित्वको कम्पनी नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त खुलेको छ। प्रतिष्पर्धाबाट नियुक्त गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले मंगलबार सूचना जारी गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकहरूबाट २१ दिनभित्र आवेदन पेस गर्न आग्रह गरिएको छ। यो कम्पनी लामो समयपछि फाइदामा गएको केही समयअघि प्रधानमन्त्री वालेन्द्र शाहले उल्लेख गरेका थिए। अघिल्लो वर्ष १० करोड घाटामा रहेको उद्योग आर्थिक वर्ष २०८२/८३ मा ३ करोड नाफा कमाउन सफल भएको समाचार गत साउन तेस्रो साता आएको थियो।
महाप्रबन्धक पदका लागि दरखास्त दिनेले रसायनशास्त्र, फार्मेसी, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेर कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्षको कार्यअनुभव हासिल गरेको हुनुपर्छ।
उमेरका हकमा दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। आवेदनसँगै सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना (बिजनेस एक्सन प्लान) पनि सिलबन्दी बुझाउनुपर्छ।
दरखास्त स्वीकृत भई छनोट सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूलाई मात्र व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाइने सूचनामा छ।