काठमाडौं। रसुवाको बाढीले आपूर्ति व्यवस्थापनमा कठिनाइ भए पनि आर्थिक तथा व्यावसायिक गतिविधिलाई भने खासै फरक नपारेको पाइएको छ। खासगरी उपभोग, लगानी र ऋण विस्तारका हिसाबले आर्थिक गतिविधिलाई फरक पारेको छैन।
बैंकरहरुका अनुसार भदौ १० गते बाढी गएपछि केही दिन आर्थिक सुस्तता देखिएपनि साता दिनभित्रै लय समात्न थालेको छ। पुराना उद्योगधन्दादेखि व्यापार क्षेत्रका लागि ऋणको माग बढेर गएको उनीहरु बताउँछन्।
‘दसैं तिहारले स्वाभाविक रुपमा खाद्यान्न तथा लत्ताकपडाको माग बढाउँछ। त्यसको लागि ऋण कम भएको छैन,’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘नयाँ क्षेत्रहरु नथपिए पनि पुरानै क्षेत्रहरुले ऋणको माग केही बढाएर लगेका छन्।’
पछिल्लो समय एकदमै धेरै ऋणको माग भएको क्षेत्र पर्यटन भएको छ। होटल तथा रिसोर्ट बनाउनका लागि हरेक दिनजस्तो ऋणको प्रस्ताव आइरहेको छ। नाम चलेका घराना तथा समूहले होटलका लागि बैंकसँग पैसा मागिरहेका छन्।
‘पोखरा, नगरकोट र तराईका भेगहरुमा होटल निर्माणका लागि ऋण माग भएको छ,’ उनले भने।
अहिले ऋणको माग बढेको अर्को क्षेत्र हो- जलविद्युत परियोजना। नेपाल विद्युत प्राधिकरणले ऊर्जा खरिद सम्झौता गर्ने भएपछि जलविद्युत परियोजनाहरुका लागि पनि ऋणको माग आएको छ।
‘बाढीले बगाएको परियोजना पनि पुन:निर्माण गर्नुपर्ने हुन्छ। नयाँ परियोजनाका लागि पनि ऋणको माग छ,’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने, ‘भारत निर्यात गर्न सकिने वस्तु तथा कच्चा पदार्थका लागि पनि ऋणको माग बढेर गएको छ।’

भारत निकासीका लागि तेल तथा त्यसको कच्चा पदार्थ मगाउन ऋण माग भइरहेको छ। तराईका जिल्लाहरुमा अहिले रिफाइनरी प्लान्ट लगाउन ऋण माग भइरहेको छ। प्लाइउड कम्पनीका लागि पनि ऋणको माग आइरहेको छ।
‘भइरहेका उद्योगहरुले पनि आफ्नो क्षमता बढाइरहेको देखिन्छ,’ खनालले भने, ‘पुनर्निर्माण सुरु भएपछि त्यससँग सम्बन्धित वस्तु तथा अन्य उपभोगका लागि पनि ऋण बढ्ने देखिएको छ।’
अहिले मोटरसाइकल तथा स्कुटरको बिक्री बढेको छ। त्यसका लागि प्रतितपत्र खोल्ने दर बढेर गएको बैंकरहरु बताउँछन्। चिनियाँ गाडीहरु केरुङपछि कोरला नाकाबाट ल्याइँदैछ। बुकिङ गरिएका गाडी बाढीले बगाएपछि बिक्रेताले तत्कालै नयाँ एलसी खोल्न सुरु गरिसकेका छन्।
‘नयाँ क्षेत्र आएको छैन। तर गाडी-बाइक, स्पेयर्स पार्टसका साथै खाद्यान्न तथा लत्ताकपडा, डन्डी सिमेन्ट, तेललगायत वस्तुका लागि ऋण माग भइरहेको छ,’ खालिङले भने, ‘आर्थिक क्रियाकलापमा कमी आएको ऋण विस्तारका हिसाबले महसुस भएको छैन।’
बैंकरहरुका अनुसार आर्थिक क्रियाकलापका हिसाबले रसुवा एउटा सानो करिडोर हो। ऋण गएकै हिसाबले पनि त्यहाँ ठूलो आर्थिक गतिविधि हुने ठाउँ थिएन। चिनियाँ सामान आयात गर्ने नाकाबाहेक त्यहाँ ठूलो व्यावसायिक क्रियाकलाप हुँदैन्थयो। त्यही भएर पनि त्यसको असर लामो नरहेको बैंकरको बुझाइ छ।
‘तर, त्यहाँ पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले आर्थिक गतिविधि चाहिँ बढ्नेछ। ३ देखि ५ वर्षमै धेरै काम गर्नुपर्ने भएकाले त्यहाँबाट हुने आर्थिक क्रियाकलापले गतिविधि बढ्ने देखिन्छ,’ खनालले भने।
कृष्णभीरको बाटो धसिएर राजमार्ग अवरुद्ध हुँदा भने आपूर्ति केही प्रभावित भएको छ। ढुवानी शुल्क बढेको छ। जुनबेला बढी उपभोग हुने हो त्यही बेला आपूर्तिमा समस्या हुँदा महँगी बढेर गएको छ।
बैंकरहरुका अनुसार सामान अलिकति महँगो भएर अर्को बाटोबाट आउने भएकाले आर्थिक क्रियाकलापमा महँगीबाहेक अर्को असर नपर्ने देखिएको छ।
‘मनोबल कमजोर भएका कारण नयाँ लगानी आएको छैन। तर भइरहेको क्षेत्रमा मान्छेहरुले काम रोकेका छैनन् बरु केही क्षेत्रमा बढाएका छन्। जतिसक्दो कृष्णभीरलाई नियमित गर्न सक्यो गतिविधि अझ तीव्र दरमा बढेर जाने देखिएको छ,’ अर्का एक बैंकरले विश्लेषण सुनाए, ‘ऋण लगानीका हिसाबले निराश हुनुपर्ने देखिएको छैन। निजी निर्माण बढेर गएको छ।’
२०७२ सालको भूकम्पपछि निर्माण क्षेत्रले जुन स्तरको रफ्तार समाएर अर्थतन्त्र चलायमान बनाइदियो, समयमै पुनर्निर्माण सुरु गरेमा आर्थिक गतिविधि बढेर जानेमा बैंकर विश्वस्त छन्। ‘अलिकति वातावरण निजी क्षेत्रलाई दिने र सरकारले पनि खर्च गर्न थालिहाल्ने हो भने अर्थतन्त्र नै टर्नअराउन्ड गर्ने पो देखिएको छ,’ ती बैंकले सुनाए।