काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले चीनसँगको मुख्य नाका रसुवागढी ध्वस्त भएको र अर्को नाका तातोपानी बन्द भएको अवस्थामा पनि अटो व्यवसायीले गाडी डेलिभरीको तयारी थालेका छन्।
व्यवसायीले साउन २६ देखि ३१ सम्म भएको नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ देखि १४ सम्म आयोजना गरिएको नाडा अटो शोमा बुकिङ भएका गाडी भ्याएसम्म भदौ अन्तिमबाट र नभए असोज पहिलो सातादेखि डेलिभरी गर्ने तयारी थालेका हुन्।
बुकिङबाट उत्साही व्यवसायीले चीनसँगका दुई नाकाको अवस्थाले तनावबीच तेस्रो नाका कोरोलाबाट गाडी ल्याएर ग्राहकलाई डेलिभरी दिन लागेका हुन्।
एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाका अनुसार गाडी डेलिभरी अब छिटै सुरु हुनेछ। ‘अहिले गाडीहरु कोरोला बोर्डरमा आइपुगेका छन्। हामी अर्को हप्तासम्म काठमाडौं ल्याइपुर्याउने छौं। त्यसपछि नाइमा र नाडमा बुकिङ भएका गाडी डेलिभरी दिन्छौं। हामीले नाइमा अगाडि बुकिङ भएका गाडी पनि डेलिभरी दिनुपर्नेछ,‘ उनले भने।
सबैभन्दा सजिलो र छोटो रसुवा नाका भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण तहसनहस भएको थियो। व्यवसायीले आयात गरेका ७०० भन्दा धेरै गाडी पनि बाढीमा बिलाएका थिए।
चीनले अर्को व्यापारिक नाका तातोपानी भदौ १४ देखि अनिश्चितकालका लागि भनेर बन्द गरेको छ। जसले गर्दा चिनियाँ गाडी बिक्री गर्ने व्यवसायी सामु अहिले कोरला नाकाको विकल्प छैन। तर, कोरलाबाट ल्याउन एकातिर धेरै दिन लाग्छ भने अर्कातिर भूगोल र पूर्वाधार सहज छैन।
अरु विकल्प नभएपछि कोरला हुँदै गाडी ल्याउँदा नेपालतर्फ उच्च हिमाली भूभागमा पर्ने त्सारङ क्षेत्रमा समेत चार्जिङ पूर्वाधार थप गर्न थालिएको छ। गाडीको चाप बढ्ने अनुमानमा थप चार्जिङ स्टेसन निर्माण गरिरहेको शारडाले बताए।
उनका अनुसार अहिले कम्पनीको एउटा टिम कोरला नाकामा छ। जसले गाडीहरु काठमाडौं ल्याउन व्यवस्थापनको काम गरिरहेको छ।

नाइमा र नाडा अटो शोमा करिब ६००० सवारीसाधन बुकिङ भएका थिए। बुकिङमध्ये ४० प्रतिशत मात्रै बिक्री हुने गरेको अघिल्ला वर्षको उदाहरणले पनि व्यवसायीले तिहारसम्म २५०० गाडी डेलिभरी गर्नुपर्ने छ। तर, कतिपय कम्पनीले भने ६० प्रतिशतसम्म बुकिङलाई बिजनेसमा कन्भर्ज गर्ने गरेका छन्।
नाइमा र नाडामा सबैभन्दा धेरै टाटा, बीवाइडी, नामी, चेरी लगायत गाडी बुकिङ भएका थिए।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पनि अटो शोमा बुकिङ भएका गाडी असोज पहिलो सातादेखि डेलिभरी सुरु गर्ने तयारी गरेको छ।
‘बुकिङ भएका हाम्रा गाडीहरु असोजको पहिलो हप्ताबाट डेलिभरी सुरु हुन्छ। अहिले गाडीहरु बाटोमा छन्,’ साइमेक्स इंकका सेल्स हेड आशुतोष गौतमले भने, ‘नेपालपट्टिको बाटोका कारण समस्या हुन्छ कि भन्ने डर अझै छ। किनभने कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। अन्य रुटबाट गाडी ल्याउन निकै कठिन हुने देखिन्छ।‘

त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारण कृष्णभीरको सडक भदौ १४ गते भासिएको थियो। काठमाडौंको लाइफलाइन मानिने राजमार्व नै बन्द भएपछि त्यहाँ अहिले नयाँ ट्र्याक खोलिएको छ। तर, सडक सञ्चालनमा आएको छैन। राजमार्ग बन्द हुँदा वैकल्पिक सडकहरुमा चाप बढेको छ।
लिपमोटर र एमजीका गाडी पनि कोरोला नाकामा आइपुगेका छन्। केही गाडी भने बाटोमा रहेका ती गाडीका बिक्रेता कम्पनीले जनाएका छन्।
‘एमजीका गाडी अहिले कोरला आइपुगेको छ। त्यहाँबाट काठमाडौं ल्याउन काम भइरहेको छ। हामी सकेसम्म छिट्टै गाडी डेलिभरी गर्ने तयारी गरेका छौं। रसुवा नाका बन्द भएकाले केही ढिला भएको हो। असोजमा हामी डेलिभरी सुरु गर्छौं। हाम्रो एसयूभी भएकाले कोरलाबाट ल्याउन कुनै समस्या छैन,‘ पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षत्रीले भने।

कोरला रुटले बढायो ढुवानी खर्च
मुख्य नाका बन्द भएका कारण कोरला नाका प्रयोग गर्नुपर्दा व्यवसायीहरुको लागत उल्लेख्य रुपमा बढेको छ। कोरला हुँदै एउटा गाडी काठमाडौं ल्याउँदा ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म अतिरिक्त लागत लाग्ने व्यवसायीहरुको भनाइ छ।
शारडाका अनुसार कोरला हुँदै गाडी ल्याउन दुईदेखि तीन दिनसम्म लाग्छ। ‘ढुवानी भाडा तीन गुणासम्म बढेको छ। एउटा गाडीमा ५० हजार रुपैयाँभन्दा बढी लागत थपिएको छ,’ उनले भने।
क्षत्रीले पनि कोरला रुट प्रयोग गर्दा एउटा गाडीको लागत ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म बढ्ने देखिएको बताए।
तातोपानी खुल्ने प्रतीक्षामा व्यवसायी
व्यवसायीहरुका अनुसार चीनबाट सवारीसाधन भित्र्याउन कोरला नाका व्यावहारिक विकल्प होइन।
कम ग्राउन्ड क्लियरेन्स भएका गाडी कोरला हुँदै ल्याउन कठिन हुने व्यवसायीहरुको भनाइ छ। त्यसैले रसुवा नाका ध्वस्त भएको अवस्थामा व्यवसायीहरु तातोपानी नाका सञ्चालनको प्रतीक्षामा छन्।
‘ग्राउन्ड क्लियरेन्स कम भएका गाडी कोरलाबाट ल्याउन कठिन छ। त्यसैले हामी तातोपानी नाका सञ्चालनको पर्खाइमा छौं,’ शारडाले भने।
चीनतर्फ बन्दरगाह र भन्सारमा रहेका कर्मचारीलाई माथिल्लो क्षेत्रमा व्यवस्थापन गरी नाका सञ्चालनको तयारी भइरहेको जानकारी व्यवसायीहरुले पाएका छन्।
चीनले एक साताअघि नेपाली भन्सार प्रशासनलाई इमेल लेखेर नाका अनिश्चिकतकालका लागि बन्द गरेको जानकारी गराएको थियो। तातोपानी भन्सार कार्यालयका अनुसार चीनबाट नाका कहिलेबाट सञ्चालनमा आउँछ भन्ने जानकारी आएको छैन।