काठमाडौं। बाढीपीडितको उद्धार र राहतका लागि नेपाली व्यवसायीद्वारा सञ्चालित युरोपको ट्रिप इन होटल समूहले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
ट्रिप इन होटल समूहको कल्याणकारी संस्था ‘हेल्पिङ ह्यान्ड्स’ले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ जम्मा गरेको हो।
‘विपद्को कठिन घडीमा उद्धार र राहतको काम प्रभावकारी रूपमा सम्पन्न गर्न सरकारलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ समूहका तर्फबाट सञ्चालक जीवा लामिछानेले भने, ‘यस्तो बेला हामी सबैले आफूले सकेको योगदान गर्नुपर्छ। रकम ठूलो वा सानो हुन सक्छ तर यतिखेर देशले भावनात्मक र मनोवैज्ञानिक ऐक्यबद्धता पनि खोजेको छ।’
लामिछाने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष हुन्। यो समूहमा गैरआवासीय नेपाली संघका अर्का पूर्वअध्यक्ष कुमार पन्त पनि आवद्ध छन्।