BIZMANDU
www.bizmandu.com

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेमाथि कडा निगरानी, डीएसपीको कमान्डमा विशेष टोली

२०८३ भदौ २२

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेमाथि कडा निगरानी, डीएसपीको कमान्डमा विशेष टोली
सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेमाथि कडा निगरानी, डीएसपीको कमान्डमा विशेष टोली


काठमाडौं। भोटेकोशी बाढीपहिरोको घटनाले मुलुक आहत भएका बेला यसलाई जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई प्रहरीले विशेष निगरानीसँगै कारबाही थालेको छ। प्रहरीले रिपोर्ट आएका पोस्टसँगै आफ्नो निगरानीमा परेका सामग्री हटाउन सम्बद्ध सोसल मिडिया कम्पनीसँग पनि सहकार्य गरिरहेको छ।

Vigo
GBIME
Tata

नेपाल प्रहरीका अनुसार प्रारम्भिक रिपोर्टमा फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाहसहितका समाचारजस्ता सामाग्रीहरू प्रसारण भएको देखिएको थियो। जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाउन लगाइएको छ।

सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामग्री प्रसारण गर्ने काठमाडौं चन्द्रागिरी-१२ बलम्बु बस्ने बैतडी सुर्नया-७ का २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।

वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई फेसबुकको रिलमा पोस्ट गरेका थिए।

पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रसारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी सरकारले कडा पारेको छ। त्यस्तालाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउने गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बताए।

घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी भ्रमपूर्ण सामग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ। यस सम्बन्धमा प्रभावकारी रूपमा काम भइरहेको प्रहरीले जनाएको छ।