काठमाडौं। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। पार्टीले गर्ने सहयोगको केही दिनअघि सभापति गगन थापाले घोषणा गरेका थिए। उक्त घोषणाअनुसार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा गर्न चेक हस्तान्तरण गरेको जनाइएको छ।
उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य, सांसद कमला पन्त लगायतका नेताहरू थिए।
भदौ १० मा भोटेकोशी, त्रिशूली नदीमा आएको भीषण बाढीले जनधनको ठूलो क्षति गरेको थियो। बाढीका कारण कैयौं घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ। विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासको व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले जनाएका छन्।
कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गरेको छ।