मेलम्ची। पाँच वर्षअघि २०७८ असार २ गते बिहान ७ बजे सिन्धुपाल्चोकको मेलम्ची बजार आधाजसो डुबेको थियो। रातभरको बाढीले डुबेको बजार हेर्न धेरैजसो मानिस मेलम्चीटारको डाँडामा उक्लेका थिए।
अघिल्लो दिन साँझदेखि भ्रेमाथाङबाट लेदोसहितको बाढी आएको थियो जसले हेलम्बुको चनौटे हुँदै मेलम्ची बजार डुब्यो। बिहान ९ बजे मेलम्चीटारको इन्द्रेश्वरी माविमा बिजमाण्डूको टिम पुग्दा स्थानीयहरु निकै हतास देखिन्थे।

उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर आकाशमा घुमिरहेको थियो। सडकमा प्रहरी र स्काउटको टोली डोरी फैलाएर फसेका मानिसलाईतानिरहेका थिए। खोला साबिक सतहबाट १५ मिटर जतिमाथि आएर गेग्रानले भरियो। बजारका घरमा तीन तलासम्म हिलो र बालुवा पस्यो।
बाढीका कारण २६० घरमा क्षति पुग्यो। २१ जना बेपत्ता भए। असार ३ गते मेलम्ची र हेलम्बु क्षेत्रको भूगर्भ अध्ययन गरेका विज्ञ रविन निरौलाले भ्रेमथाङको पहिरोकै कारण बाढी आएको पत्ता लगाए। लेदोसहितको पहिरोले बाढी आएपछि १ गते राति मेलम्ची र याङ्री मिसिएको दोभानदेखि मेलम्ची बजार बगर बनेको थियो।
मेलम्ची बाढी यसपालि भदौ १० गते रसुवामा आएको बाढीजस्तै आकस्मिक थियो।

हिलो पन्छाएर बस्न थाले स्थानीय
बाढीले बगर बनेको मेलम्चीमा बिहीबार बिजमाण्डूको टिम पुग्दा स्थानीयहरु तिनै घरमा बसेको पाइयो। लाग्यो कि पाँच वर्षअघि मेलम्चीमा भयानक बाढी आएकै थिएन।
स्थानीयहरु बालुवा र लेदो निकालेर पहिलेकै घरमा बसेका हुन्। बाढीले बगाएको पक्की पुल भएकै ठाउँमा नयाँ पक्की पुल बनाइएको छ। त्यही पुलमाथि हामीले भेट्यौं लक्ष्मण गौतम।

लक्ष्मण तिनै हुने जो ५ वर्षअघि असार २ गते दिउँसो मेलम्चीटारको डाँडाबाट मेलम्ची बाढीले निलेको आफ्नो निर्माणाधीन रिसोर्टतिर हेर्दै टोलाइरहेका थिए।
त्यतिबेला झण्डै एक करोड खर्च गरेको रिसोर्ट रहेको ठाउँ अहिले खाली छ। ‘सरकारले तीन लाख दिन्छु भनेको थियो। तर, यो डुबेको ठाउँमा बनाउन हुँदैन भने। अरु ठाउँमा मेरो जग्गा थिएन। त्यसैले राहत पनि लिइन,’ लक्ष्मणले भने।
लक्ष्मणको बन्दै गरेको रिसोर्ट छेवैमा एक तल्लामात्र देखिने गरी एउटा घर डुबेको थियो। नदीले आफ्नै बाटो समातेपछि तथा लेदो र बालुवा निकालेपछि पुल नजिकैको तीन तले घरमा अहिले मानिस बस्न थालिसकेका छन्।
मेलम्ची नगरपालिका-११ मा डुबानमा परेका २०० भन्दा बढी घरमा मानिसहरु बस्न थालेका हुन्। ‘सरकारले पुनर्स्थापनाको कार्यक्रम नल्याएपछि पुरानै थातथलोमा बस्न बाध्य भयौं,’ स्थानीय रामकृष्ण चालिसेले भने, ‘हामीसँग अन्यत्र जान जग्गा जमिन थिएन। घर बनाउन सक्ने आर्थिक हैसियत पनि थिएन। त्यही कारण बालुवा र लेदो निकालेर बसेका हौं।’
बाढीले बगर बनेको वस्तीमा बालुवा निकालेर पुरानै घरमा बसिरहँदा मेलम्चीबासी निर्धक्क भने छैनन्। उनीहरुलाई हरेक वर्षामा २०७८ असार १ गतेको बाढीले झस्काउने गरेको छ। ‘हामी धेरैजसो लेदो निकालेर बस्न थालेका छौं। तर, नदीमा बाढी आउँदा डर लाग्छ। केही हुन्छ कि भनेर,’ चालिसेले भने।
बाढीमा परी चालिसेको मेलम्ची रिभर साइट होटल र दुई वटा ट्राउट फार्म बगाएको थियो। यसपालि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीले पारेको विनासपछि मेलम्चीबासी थप झस्किएका छन्।
मेलम्ची बगरलाई बागबानी बनाउने भनेका थिए ओलीले
मेलम्चीको वस्ती बगरमा परिणत हुँदा प्रधानमन्त्री थिए- एमाले अध्यक्ष केपी शर्मा ओली। बाढी आएको २६औं दिनमा मेलम्ची पुगेका ओलीले पुनर्स्थापनाको योजना ल्याउने आश्वासन मात्र दिएका थिएनन्, बाढीले विनास गरेको ठाउँमा फेरि बस्ती बसाल्न नहुने भन्दै सुरक्षित ठाउँ खोज्न निर्देशन दिएका थिए। उनले बगरलाई अब बागबानीका रुपमा विकास गर्ने पनि सुनाएका थिए।
‘पुनर्निर्माणका लागि ठिक ढंगले अघि बढाउने योजनासहित म आएको छु। विनास गरेको ठाउँमा बगर बनेको छ। यो ठाउँमा भोलि हामी बागबानी बगैंचा, खेती, मत्स्यपालन अदिमा विकास गर्न सक्छौं,’ ओलीले भनेका थिए, ‘फेरि कुनै ठाउँमा पहिरो गएर नदी रोकियो भने फेरि विनास हुन्छ। उही ठाउँमा त्यसैगरी उही बजारमा बस्ती बसाउने धेरै कोशिस नगरौं।‘
ओलीको बोलीले त्यतिबेला स्थानीय आक्रोशित पनि बने। भूगोल नबुझी जथाभावी बोलेको ओलीप्रति स्थानीय असन्तुष्ट भए। ‘ओली आउनुभयो। आकाशबाट हेर्नुभयो। उहाँलाई लाग्यो होला यहाँका स्थानीय खोला मिचेर बसेका हुन्। तर, यहाँ खोलाको जग्गा मिचेर बस्ती बनाइएको थिएन। खोला नै बस्तीमा पसेको हो,’ चालिसेले भने, ‘तैपनि उहाँले आश्वासन दिए जस्तो सुरक्षित स्थानमा पुनर्स्थापनाको कार्यक्रम ल्याइएको भए हामी किन लेदो निकालेर पुरानै घरमा बस्थ्यौं र? उहाँले फर्केर पनि हेर्नुभएन,‘ चालिसेले भने।

मेलम्ची बजार जोडिएको पुल भत्किँदा पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिका आउजाउ गर्न केही समय निकै मुस्किल भयो। सेनाले बेलीब्रिज बनाएपछि सहज बनेको आउजाउ अहिले मोटरेबल पुल बनेसँगै थप सजिलो बनेको छ।
पुल नयाँ बने पनि बस्ती पुरानै छ। मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ सरकारले पुनर्स्थापनाका लागि प्रयास गरे पनि उचित स्थान नपाएपछि स्थानीय आफ्नै थलोमा फर्किएको बताउँछन्।
‘बाढीले २०० घर डुबानमा परेका थिए। सरकारले ५ लाख रुपैयाँ राहतसहित नयाँ ठाउँमा बस्न भनेको थियो। तर, त्यति रकमले जग्गाको जोहो नै नहुने भएपछि स्थानीयहरु बालुवा निकालेर बस्न थाले,’ मेयर तामाङले भने।