त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीबाट प्रभावितलाई आफ्नो घर बस्नयोग्य नभए भाडामा कोठा लिएर बस्न विदुर नगरपालिकाले आग्रह गरेको छ। कोठाभाडाका लागि नगरपालिकाले तत्काल केही रकम उपलब्ध गराउने भएको छ।
नगर कार्यपालिकाको आइतबार भएको १३४औँ बैठकले १०/१० हजार रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई ‘होल्डिङ सेन्टर’ को बसाइ छोट्याउन आग्रह गरेको छ। नुवाकोटबाट विस्थापित भएर अन्यत्र जान बाध्य भएकालाई पुनःस्थापनामा प्रोत्साहन गर्दै कोठा भाडा लिएर बस्न अनुरोधसहित सहयोग गर्ने निर्णय गरेको हो।
नगरप्रमुख श्रेष्ठको अनुसार घर भाडा रकम उपलब्ध गराउने र परिवारका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन, दैनिक प्रयोगका सरसफाई लगायतका सामग्री राहत स्वरुप समेत उपलब्ध गराउने निर्णय भएको छ। कोठा भाडामा लिँदा वा दिँदा कोही कसैले प्रचलित चलनचल्तीको भाडादर भन्दाबढी नलिन अनुरोध गर्दै यदी लिएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने समेत नगर कार्यपालिकाको बैठकले चेतावनी दिएको छ।
बाढीबाट प्रभावित भएको करिब दुई साता हुन लागेको भन्दै अब दीर्घकालीन पुनःउत्थानतर्फ अघि बढ्नुपर्ने समय भएकाले तीनै तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र दाताहरुको सहकार्यमा अस्थायी आवास निर्माणमा नगरपालिकाले जोड दिने उल्लेख छ।
‘बाढीले प्रभावित भएर घरमा क्षति भएकाले सोही स्थानमा नयाँ आवास निर्माणको लागि तत्कालै सम्भव हुने अवस्था छैन,’ बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख श्रेष्ठले भने, ‘विपद् पश्चात तत्कालका लागि उपलब्ध गराउने राहतको सट्टा दिगो रुपमा उपभोग गर्न सकिने उपभोगका सामग्री र आवासीय प्रयोजनसँग सम्बन्धित सहयोग जुटाउनुपर्छ।’
विदुर नगरपालिकाभित्र सञ्चालित ‘होल्डिङ सेन्टर’मा बाढीबाट प्रभावित अन्य जिल्ला तथा पालिकाका बासिन्दालाई सम्बद्ध पालिकालाई नै व्यवस्थापनको प्रबन्ध मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ। विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा बसोबास गरिरहेकामध्ये करिब आधा सङ्ख्या अन्य जिल्ला वा पालिकाका छन्।
यसैगरी विदुर नगरभित्र बाढी पश्चात प्रभावित विद्यालयको पठनपाठन यही भदौ २४ गतेदेखि नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको छ। नगर कार्यपालिका बैठकले अस्थायी आवास केन्द्र सञ्चालन भएका र पूर्ण क्षति भएका विद्यालयबाहेक बाँकी विद्यालय नियमित सञ्चालनमा ल्याउने निर्णय गरेको हो। बाढी प्रभावित क्षेत्रका विद्यार्थीले आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न जान पाउने छन्। हाललाई विद्यालय पोसाक पनि आवश्यक नपर्ने निर्णयमा छ। रासस