काठमाडौं। नबिल बैंकले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको ७१२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा छुट्याइएको छ। नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा प्रस्ताव गरिएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा र दिगो व्यावसायिक वृद्धिका आधारमा लाभांश प्रस्ताव गरेको जनाएको छ।
त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा पनि नगद लाभांश प्रस्ताव गरेको छ। उक्त सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा वितरण गर्ने प्रस्ताव छ।
अग्राधिकार सेयरतर्फ बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ। साधारण सेयरतर्फ बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ७२९ रुपैयाँ २६ पैसा छ।
प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ। त्यसपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लाभांश वितरण कार्यान्वयन हुनेछ।