काठमाडौं। पूर्वपञ्चहरुको पार्टी राप्रपाका महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।
रवीन्द्र मिश्रको पछि लागेर विवेकशील साझा पार्टी छोडी चार वर्षअघि राप्रपा प्रवेश गरेका पाठकले आइतबार पार्टी परित्याग गरेका हुन्।
‘महामन्त्री लगायत सबै जिम्मेवारी परित्याग गर्दै पार्टी सदस्यसमेत नरहने गरी आजकै मितिबाट अलग हुने निर्णय गरेको छु,’ उनले फेसबुकमार्फत भनेका छन्।
उनी २०७९ असोज १२ गते मिश्रसँगै राप्रपा प्रवेश गरेका थिए। उनले मिश्रको कोटामा महामन्त्री पद पाएका थिए। मिश्रले गत फागुनमै राप्रपा छोडिसकेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं-१ बाट तेस्रोपटक पराजित भएपछि मिश्रले राप्रपा छोडेका थिए। त्यसको ठिक छ महिनापछि पाठकले पनि पार्टी त्यागेका हुन्।
उनले अहिले आएर पार्टीलाई जनताले भरोसा गर्न सक्ने दल बनाउने दिशामा ठोस परिणाममुखी काम हुन नसकेको र पारदर्शिताको अभाव रहेको बताएका छन्।
‘पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रह्यो। भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ,’ उनले भनेका छन्।
पार्टीको नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त संघर्ष झन् झाङ्गिँदो अवस्थामा रहेको उनको बुझाइ छ।
राप्रपा पछिल्लोपटक बागमती प्रदेश सरकारमा सहभागितालाई लिएर कलहमा फसेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको चाहनाविपरीत राप्रपा एमाले नेतृत्वको बागमती सरकारमा सहभागी भएपछि एक समूहले अर्को समूहलाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेको छ।