BIZMANDU
www.bizmandu.com

बंगलादेशमा अब सोलु र काबेली बी-१ को विद्युत निर्यात गरिने, भारतले देला अनुमति?

२०८३ भदौ २१

बंगलादेशमा अब सोलु र काबेली बी-१ को विद्युत निर्यात गरिने, भारतले देला अनुमति?
बंगलादेशमा अब सोलु र काबेली बी-१ को विद्युत निर्यात गरिने, भारतले देला अनुमति?


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीको असर बंगलादेशर्फको विद्युत् निर्यात रोकिएपछि नेपाल विद्युत् प्राधिकरणले भारतसँग अनुमति मागेको छ।

Vigo
GBIME
Tata

बंगलादेशलाई बिजुली पठाउँदै आएका आयोजना त्रिशूली जलविद्युत केन्द्र र चिलिमे बाढीका कारण तहसनहस भएपछि प्राधिकरणले नयाँ आयोजनाको विद्युत पठाउनका लागि भारतसँग अनुमति मागेको हो। बंगलादेशमा बिजुली पठाउन भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने भएकाले उसको अनुमति चाहिन्छ।

त्यसैले बंगलादेशमा बिजुली निर्यातका लागि २०८१ मा तीन देशबीच सम्झौता भएको थियो। त्यतिखेर त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट बिजुली बंगलादेश पठाउने सम्झौता भएकामा ती दुवै आयोजना भदौ १० गतेको बाढीमा परेका छन्।

त्यही कारण अन्य आयोजनाको बिजुली बंगलादेश पठाउनका लागि अनुमति दिन भारतलाई पत्राचार गरेको प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले जानकारी दिए।

उनले बंगलादेशमा विद्युत् निर्यातलाई निरन्तरता दिन अन्य दुई आयोजनाबाट उत्पादित बिजुली पठाउन अनुमति माग्दै भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)लाई पत्राचार गरेको बताए। क्रस बोर्डर विद्युत व्यापारका लागि एनभीभीएन नोडल एजेन्सी हो।

‘हामीले अहिलेसम्म चिलिमे र त्रिशूली जलविद्युत केन्द्रको मात्र बिजुली बंगलादेशमा निर्यातका लागि निर्यात अनुमति पाएका थियौं। तर, १० गतेको बाढीले दुबै आयोजना क्षतिग्रस्त भएर उत्पादन बन्द भएको छ। त्यही भएर अन्य आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न चाहेका छौं। त्यसका लागि हामीले एनभीभीएनलाई पत्राचार गरेका छौं,’ उनले भने।

प्राधिकरणले २०.५ मेगावाटको सोलु हाइड्रोपावर र २५ मेगावाटको काबेली बी-१ हाइड्रोपावरको बिजुली निर्यातका अनुमति माग्दै एनभीभीएनलाई पत्राचार गरेको हो। बंगलादेशमा बिजुली उठाउन प्राधिकरण भारतको केन्द्रीय विद्युत प्राधिकरणको अनुमति पर्खेर बसेको छ।

‘हामी अहिले एप्रुभलको पर्खाइमा छौं,’ श्रेष्ठले भने, ‘एप्रुभल पाएपछि बंगलादेशमा पुन: बिजुली निर्यात गर्छौं।’ प्राधिकरणले अनुमति मागेका दुवै आयोजनाको बिजुली अहिले भारतीय बजारमा बेच्ने गरिएको छ।

प्राधिकरणले वर्षातको समयमा आफूलाई बढी भएको बिजुली भारतलाई बेच्दै आएको छ। बंगलादेशलाई पनि प्राधिकरणले दुई वर्षदेखि वर्षातको समयमा बिजुली बेच्दै आएको थियो।

एक वर्षअघि जुलाई १ देखि नोभेम्बर १५ सम्मको अवधिमा बंगलादेशमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यातबापत प्राधिकरणले ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपैयाँ आम्दानी गरेको थियो।

बंगलादेशमा विद्युत बिक्री दर प्रति युनिट ६.४० अमेरिकी सेन्ट छ। प्राधिकरणले ४०० केभीको ढल्केबर सबस्टेसनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म विद्युत पुर्‍याउने सम्झौता छ।