काठमाडौं। न्युजिल्याण्ड ‘ए’ले नेपाल ‘ए’माथि साँघुरो जित निकालेको छ। अस्ट्रेलिया भ्रमणका क्रममा रहेको नेपाली टोलीलाई न्युजिल्याण्ड ‘ए’ले २ विकेटले हराएको हो।
अस्ट्रेलियाको डार्विनमा टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ले अन्तिम बलसम्म खेल्दै २११ रन बनाएको थियो। नेपालका लागि पवन सर्राफले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ६१ रन बनाउँदा लोकेश बमले ४७ तथा अनिलकुमार साहले २४ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्ड ‘ए’का लागि रिस मारियूले शतकीय इनिङ्स खेल्दै टोलीको जित सुनिश्चित गरे। उनले १३४ बलमा १३७ रन बनाएपछि युवराज खत्रीले उनको विकेट त लिए तर त्यसबेलासम्म धेरै ढिला भइसकेको थियो।
त्यसबाहेका अन्य ब्याटरले ठूलो योगदान दिन नसके पनि नेपाललाई हराउन उनी एक्लै डटिरहे। त्यसबाहेक म्याथ्यु फिसरले २३ रन तथा मोहम्मद अब्बासले २१ रन बनाए। न्युजिल्याण्डले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो।
बलिङमा नेपालका रिजन ढकाल, सहाब आलम र युवराज खत्रीले समान २ विकेट लिँदा विपिन खत्री र पवन सर्राफले समान १ विकेट लिए।
आजै नेपाली सिनियर टोलीले भने मलेसियामा एसीसी प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। नेपालले साउदी अरबमाथि ५ विकेटको जित निकालेसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो।