BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी, राहत कोषमा ११ अर्ब ५ करोड

२०८३ भदौ २०

बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी, राहत कोषमा ११ अर्ब ५ करोड
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी, राहत कोषमा ११ अर्ब ५ करोड


काठमाडौं। बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

Vigo
GBIME
Tata

सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रकममध्ये एक अर्ब रुपैयाँ बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा परेर हराइरहेकाहरुको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ।

यसअघि नमूना दिन पीडित परिवारका सदस्यलाई परेको समस्यालाई ध्यानमा राखेर विदुरमा केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. दामोदर पौडेलले बताए। उनका अनुसार बाढी परेर दिवंगत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ।

उहाँका अनुसार डिएनए परीक्षणका लागि परिवारका जोकोही एक जनासँग नमूना संकलन गरिएको छ। भेटिएका शवको डीएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमूना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीसँग नमूना लिनका लागि डा. पौडेलले आग्रह गरे।