BIZMANDU
www.bizmandu.com

सुधन गुरुङले फेरे झापादेखि डडेल्धुरासम्मका सीडीओ, १२ सहसचिव र ९ उपसचिवको सरुवा

२०८३ भदौ १९

सुधन गुरुङले फेरे झापादेखि डडेल्धुरासम्मका सीडीओ, १२ सहसचिव र ९ उपसचिवको सरुवा
काठमाडौँ, २१ साउनः गृह मन्त्री सुधन गुरुङ सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सदस्यहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस


काठमाडौं। गृह मन्त्रालयले १२ जना सहसचिव र ९ जना उपसचिवको सरुवा गरेको छ। यस्तै दुई जना सहसचिवको पदस्थापना गरिएको छ।

Vigo
GBIME
Tata

मन्त्रालयले झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलाललाई मन्त्रालय तानेर उनको ठाउँमा श्रवणकुमार पोखरेललाई पदस्थापना गरेको छ। बिहीबार गरिएको सरुवा र पदस्थापनाको निर्णय मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ।

सल्यानका सीडीओ महेन्द्रकुमार सापकोटा सुर्खेत सरुवा भएका छन् भने सल्यानमा मन्त्रालयकी उपसचिव बन्दना केसीलाई पठाइएको छ। यस्तै जाजरकोटका सीडीओ खडानन्द अधिकारीलाई बारा सरुवा गरेर उनको स्थानमा बागलुङका सहायक सीडीओ नवराज बराललाई पठाइएको छ।

बाराका सीडीओ धर्मेन्द्र कुमार मिश्र गोरखा पुगेका छन् भने गोरखामा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई मन्त्रालय तानिएको छ। खोटाङकी सीडीओ रेखा कँडेल पनि सरुवामा परेकी छन्। उनलाई दोलखा पठाइएको छ।

दोलखाका सीडीओ हरिप्रसाद घिमिरेलाई मन्त्रालय तानेर बाँकेका सहायक सीडीओ महेशकुमार गुरुङलाई खोटाङको सीडीओ बनाइएको छ।

रौतहटका सीडीओ दिनेश सागर भुसाल पनि मन्त्रालय तानिएका छन्। उनको स्थानमा पर्वतका सीडीओ लक्ष्मीप्रसाद पौडेललाई पठाइएको छ। रोल्पाका सीडीओ गंगाबहादुर क्षत्री पर्वत पुगेका छन्।

मन्त्रालयमा कार्यरत ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशक बनाइएको छ भने गौतमबुद्ध विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई मन्त्रालयमा ल्याइएको छ।

मन्त्रालयका उपसचिव कुलशेखर अर्याल भोजपुर र गणेश गैरे म्याग्दीको सीडीओ बनेका छन्। डडेलधुराका सीडीओ अमरबहादुर वलीलाई बाँकेमा सहायक सीडीओ बनाएर पठाइएको छ।