काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका २० वटा झोलुङ्गे पुल मर्मत कार्य अगाडि बढाइएको छ। सरकार युद्वस्तरमा लागेको छ।
भदौ १० गते आएको बाढीले टिमुरेदेखि मुग्लिनसम्म ५३ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएकामा ५ वटा एक महिनाभित्र मर्मत गरिसक्ने गरी काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बाढीले क्षति भएकामध्ये ३३ वटा पुनर्निर्माण र २० वटा झोलुङ्गे पुल मर्मत गर्नुपर्ने निष्कर्षपछि यसका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो। ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि १७ गते नै बोलपत्र आह्वान गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार महेश दोभान-मास्टार, कालिकाथान, मलिङ्गा-मझुवाटार, केउरेनी-गहते र पिमलटार-जागराम खोला झोलुङ्गे पुल मर्मतमा प्रगति भएको छ। यी ५ वटा पुलको मर्मत १ महिनाभित्र सम्पन्न हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।