BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितलाई बसोबासका लागि जग्गा पहिचान गर्न सहसचिवको नेतृत्वमा समिति गठन

२०८३ भदौ १९

बाढी प्रभावितलाई बसोबासका लागि जग्गा पहिचान गर्न सहसचिवको नेतृत्वमा समिति गठन
बाढी प्रभावितलाई बसोबासका लागि जग्गा पहिचान गर्न सहसचिवको नेतृत्वमा समिति गठन


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा अस्थायी बसोबासका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ।

Vigo
GBIME
Tata

मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य छन्।

समितिमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख पनि सदस्य छन्। उपसचिव दामोदर वाग्लेलाई सदस्यसचिव तोकिएको छ।

समितिलाई बाढीका कारण घरजग्गा गुमाइ विस्थापित भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्न पनि भनिएको छ।

समितिले बाढी पीडित परिवारको पहिचानदेखि पुनर्स्स्थापनाका लागि आवश्यक जग्गा छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर प्रतिवेदन पेस गर्नेछ।

समितिले सम्बन्धित स्थानीय तहको समन्वयमा बाढी पीडित परिवारको वास्तविक विवरण संकलन गर्नेछ। पुनर्स्थापनाका लागि आवश्यक पर्ने जग्गा सम्बन्धित स्थानीय तह, जिल्लास्थित भूमि प्रशासन कार्यालय र नापी कार्यालयको सहयोगमा पहिचान गरिने मन्त्रालयले जनाएको छ।