काठमाडौं। रसुवा बाढी प्रभावितका लागि एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३५ लाख सहयोग गरेको छ।
एफवानसफ्ट ग्रुप अन्तर्गतका ईसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनी ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा रकम संकलन तथा हस्तान्तरण गरिएको हो।
उक्त रकम बराबरको चेक कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ।
फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति पनि कम्पनीले आधार व्यक्त गरेको छ। हालसम्म ईसेवाका एक लाख २९ हजार १३ प्रयोगकर्ताले ९ करोड ७० लाख सहयोग गरेका छन्। यस्तै फोनपेका आठ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले दुई अर्ब १९ करोड सहयोग गरेका छन्। फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ।
भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्ट मार्फत १९ हजार ८५८ प्रयोगकर्ताले चार करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत दुई हजार ९६५ प्रयोगकर्ताले एक करोड ६३ लाख सहयोग गरेको कम्पनीले जनाएको छ।
कम्पनीले प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघ-संस्था तथा व्यक्तिहरूप्रति आभार समेत प्रकट गरेको छ।