काठमाडौं। सरकारले भोटेकोशीको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी/कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी/कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले उद्धारमा खटिनेहरुको ज्यान गएमा मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल अगाडि बढाउन ’एकीकृत व्यावसायिक पुनर्स्थापना योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुट लगायत सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ।
यस्तै बाढी प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतका लागि एसियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सस्मितले जानकारी दिए।