काठमाडौं। भोटेकोशी बाढीको असर विद्युत निर्यातमा देखिएको छ। बाढीले जलविद्युत आयोजना तहसनहस हुँदा बंगलादेशमा बिजुली निर्यात रोकिएको छ।
नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट बिजुली बंगलादेशमा पठाउँदै आएकामा ती दुवै आयोजना भदौ १० गतेको बाढीमा परेपछि निर्यात रोकिएको स्रोतले बतायो।
‘हामीले बंगलादेशमा चिलिमे र त्रिशुली जलविद्युत आयोजनाको विद्युत मात्र निर्यात गर्न अनुमति पाएका थियौं। ती दुवै आयोजना भोटेकोको बाढीमा परेका कारण बंगलादेशमा विद्युत निर्यात रोकिएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘बिजुली निर्यातका लागि अरु आयोजनाको अनुमति लिएका छैनौं। अब कहिलेसम्म रोकिन्छ भन्ने यकिन छैन।’
प्राधिकरणले वर्षातको समयमा आफूलाई बढी भएको बिजुली भारतका सासै बंगलादेशलाई पनि निर्यात गर्दै आएको थियो।
बंगलादेशमा जुलाई १ देखि नोभेम्बर १५ सम्म विद्युत निर्यातबापत् प्राधिकरणले ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपैयाँ आम्दानी गर्ने गरेकामा यसपालि प्रभावित भएको छ।