काठमाडौं। नेपाली क्रिकेट टोलीले मलेसियालाई हराएको छ। एसीसी प्रिमियर कपअन्तर्गत आज सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले हराएको हो।
मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको मलेसिया ३२.३ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो। उसका लागि कप्तान सइद अजिजले सर्वाधिक ३० रन बनाउँदा अक्विल वाहिदले २४ तथा विरनदीप सिंहले १४ रन बनाए।
बलिङमा करण केसीले सर्वाधिक ४ विकेट लिँदा ललितनारायण राजवंशीले २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक अविजित ४५ रन बनाउँदा इशान पाण्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए।
बलिङमा मलेसियाका सइद अजिज, आरिफ उल्ला विरनदीप सिंह र प्रशान्त मधुकरले समान १ विकेट लिए।
समूह चरणमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा नेपालले बहराइनलाई हराएको थियो।
दुई खेलबाट ४ अंक बनाएको नेपाल तालिकाको शीर्षस्थानमा छ। नेपाल रहेको समूह ‘ए’मा बहराइन, मलेसिया, हङकङ र साउदी अरब छन्। यी मध्ये शीर्ष दुई टोलीले सेमिफाइनलमा अर्को समूहका शीर्ष दुई टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
समूह ‘बी’मा यूएई, ओमन, कतार, कुवेत र सिंगापुर प्रतिस्पर्धामा छन्। प्रतियोगिताको च्याम्पियन टोलीले एसीसी एसिया कप खेल्न पाउनेछन्।