BIZMANDU
www.bizmandu.com

सरकारले सोचेजस्तो सजिलो छैन कृष्णभीरमा बाटो खुलाउन, नयाँ ट्रयाक खोल्दा पुरानो पहिरो बल्झिने जोखिम

२०८३ भदौ १८

सरकारले सोचेजस्तो सजिलो छैन कृष्णभीरमा बाटो खुलाउन, नयाँ ट्रयाक खोल्दा पुरानो पहिरो बल्झिने जोखिम
सरकारले सोचेजस्तो सजिलो छैन कृष्णभीरमा बाटो खुलाउन, नयाँ ट्रयाक खोल्दा पुरानो पहिरो बल्झिने जोखिम


काठमाडौं। पृथ्वी राजमार्गमा सामान्य दिनमा यात्रा गर्दा सडकमा गाडीको ताँती देखिन्छ। धादिङको धार्के, गल्छी हुँदै मलेखुतर्फ जाने सडकमा केही मिनेट पनि गाडी नदेखिने अवस्था विरलै आउँछ। तर, बुधबार दिउँसोको दृश्य फरक थियो।

Vigo
GBIME
Tata

हामी धार्के हुँदै गल्छी र मलेखुतर्फ लाग्दा सडक अस्वाभाविक रुपमा सुनसान थियो। सडकको दुवैतर्फ सामान्य दिनमा देखिने बस, ट्रक, कन्टेनर र निजी सवारीसाधनको चाप थिएन। पृथ्वी राजमार्गको परिचित कोलाहल कतै थिएन। होटलका सटर सबैतिर बन्द अवस्थामा देखिए।

पहिलो नजरमा सडक बन्द भएर सुनसान भएको मात्रै लाग्थ्यो। त्रिशूलीको बाढीले सडकमा मच्चाएको ठूलो क्षति गल्छीको बैरेनीमा पुगेपछि देखियो। हामी परेवाभीर र कृष्णभीरतर्फ अघि बढ्दै जाँदा थाहा भयो- यो सुनसान सडकको पछाडि सामान्य अवरोध होइन, त्रिशूलीले सडकको जग नै बगाएको विपत्ति बडेमानको रहेछ।

परेवाभीर

परेवाभीर पुग्दा नै थाहा भइसकेको थियो सडक सामान्य रुपमा मात्रै क्षति भएको होइन। कृष्णभीर पुग्दा झन् सडकको अवस्था माथिबाट हेर्दा जति सामान्य देखिन्थ्यो, तलबाट हेर्दा त्यति नै डरलाग्दो थियो। सडकको एउटा भाग अझै कालोपत्रेसहित उभिएको छ। तर, त्यसको तल हेर्दा सडक अड्याउने जमिन छैन। त्रिशूली नदी सडकको तल्लो भागसम्म आएर सडकको बेस नै काटिरहेको छ।

कतै सडकको भाग तलतिर बगाएको छ, कतै जमिन भित्रसम्म भ्वाङ परेको छ। केही ठाउँमा त सडक कुनै बलियो पहाडमाथि होइन, खाली हावामा अडिएको जस्तो देखिन्छ। माथि सडक छ तल ठूलो भ्वाङ। माथिबाट हेर्दा सडक भएको देखिन्छ तर तलबाट हेर्दा सडक छैन।

राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख लाइफलाइनका रुपमा रहेको पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो र सडक भासिएपछि अहिले नियमित रूपमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। त्यसको प्रत्यक्ष असर राजमार्गको आवागमनमा देखिएको हो। सडक बन्द भएपछि सवारीसाधन वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन्।

कृष्णभीर

सडक माथिबाट हेर्दा ठीक, तलबाट हेर्दा भ्वाङैभ्वाङ

भदौ १० गते रसुवामा आएको बाढीपछि त्रिशूली नदीको बहाव अस्वाभाविक रूपमा बढ्यो। नदीमा आएको ठूलो बहावले पृथ्वी राजमार्गसँग समानान्तर रहेका धेरै खण्डमा कटान गर्‍यो।  

कृष्णभीर र परेवाभीरमा त्यसको असर सबैभन्दा ठूलो देखिन्छ। यी दुई स्थानबाहेक पनि त्रिशूली नदी र सडक समानान्तर रहेका धेरै ठाउँमा कटान भएको छ। कतै सडकको बेस नै बगेको छ भने कतै नदीले ल्याएको माटो, ढुंगा र गेग्रान सडकमा थुप्रिएको छ।

कृष्णभीरमा करिब १०० देखि २०० मिटरसम्मको सडक संरचना नदीतर्फ पुगेको छ। सडकलाई थाम्न बनाइएको वालको ‘टो’ नै नदीले काटेर लगेपछि माथिको सडकको भार धान्ने आधार कमजोर भएको छ। परेवाभीरमा पनि उस्तै नै भएको देखिन्छ। तलबाट सडक कटान गरेर सडकको बेस नै छैन।

सडकको तल्लो भागमा हेर्दा नदीले माटो मात्रै काटेको छैन, सडकको संरचना नै बिस्तारै खोस्रिरहेको देखिन्छ।

हामी त्यहाँ पुग्दा माथिबाट सडकमा पानी नपसोस् भनेर प्लास्टिक हालिएको थियो। नाली सफा राखिएका थिए। सडक विभागका कर्मचारी पनि सम्भावित क्षति रोक्ने प्रयासमा थिए। तर, यी सबै काम हेर्दा एउटा प्रश्न भने लगातार उठ्थ्यो, तलबाट नदीले सडकको जग नै काटिरहेको अवस्थामा माथिको सडक कति समय टिक्ला?

परेवाभीरमा बाटो खुल्यो, कृष्णभीरमा समस्या झन् गहिरो

परेवाभीरमा भने माथिबाट एप्रोच रोड बनाएर अस्थायी रूपमा सवारीसाधन सञ्चालन गर्ने बाटो निकालिएको छ। यसमा पनि माथिबाट पहिरो आउने जोखिम देखिन्छ।

किनभने पहिले पहिरो गएर त्यसलाई रोक्न लगाइएको ग्याबिन वाल माथिबाट अस्थायी सडक बनाइएको छ। जुन जोखिमपूर्ण नै छ। कृष्णभीरमा पनि त्यही उपाय अपनाउने सरकारको योजना छ। तर, दुवै ठाउँको अवस्था उस्तै छैन।

कृष्णभीरमा माथिबाट ट्र्याक खोल्नुअघि नै अर्को डर छ- नयाँ ट्रयाक बनाउँदा पहाड नै फेरि चल्यो भने?

कृष्णभीर कुनै नयाँ पहिरो आएको ठाउँ होइन। यो वर्षौंदेखि पहिरोका कारण समस्याग्रस्त क्षेत्र हो। यहाँ पहिरो नियन्त्रण गर्न वर्षौं लगाएर ग्याबिन वालका तह बनाइएका छन्। अहिले ती संरचनाका कारण पहाड केही हदसम्म स्थिर बनेको मानिन्छ। तर, यही स्थिर पहाडलाई फेरि माथिबाट काटेर सडक निकाल्नुपर्ने भएको छ।

सडक विभाग हतारमा डोजर चलाउन जोखिम लिएर फिल्डमा जाँदै छ।

परेवभीर

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मंगलबार नै विपद्को तत्काल सामना गर्दै राजधानीसँगको आपूर्ति शृंखला पुनःस्थापित गर्न कृष्णभीरमा अस्थायी सडक सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अघि बढाउन निर्देशन दिएका थिए।

उनले कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालसहित माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए। तर, मन्त्रीले दिएको निर्देशनअनुसार माथिबाट अस्थायी सडक खोल्न प्राविधिक र भौगोलिक जोखिम मोल्नुपर्ने अवस्था छ।

नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार कृष्णभीरमा तत्काल सडक सञ्चालनका लागि माथिबाट नयाँ ट्रयाक खोल्ने तयारी भइरहेको छ।

तर, त्यसका लागि पहिरोको जोखिम पनि उत्तिकै छ। ‘पहिरो आउने जोखिम छ। तर यो पुरानो पहिरोको क्षेत्र हो र धेरै वर्षदेखि पहिरो नियन्त्रणका काम हुँदै आएको छ। अहिले त्यहाँ रुखबिरुवा पनि हुर्किसकेका छन्। विज्ञहरूको अध्ययनअनुसार पुरानो पहिरोको गतिविधि रोकिएर क्षेत्र स्टेबल भएको अवस्था छ,’ अधिकारीले भनिन्।

त्यसैले अहिले भइरहेको सडकभन्दा माथिल्लो भागबाट नयाँ ट्रयाक खोल्ने विकल्प अघि सारिएको हो।

तर, यो जोखिमरहित भने छैन। कृष्णभिरमा पहिरो रोकथामका लागि पहिले नै धेरै तहमा ग्याबियन वाल निर्माण गरिएको छ। अहिले ती ग्याबियनको बीचबाट करिब ६ देखि ७०० मिटर लामो नयाँ ट्रयाक निकाल्ने तयारी सडक विभागको छ।

फिल्डमा काम सुरु गर्ने तालिका बनाइएको छ। त्यसका लागि आवश्यक रुख हटाउने, पैदल आवागमन तथा एप्रोच रोड निर्माणका लागि रेखांकन गर्ने काम अघि बढाउन बिहीबारदेखि थालिएको अधिकारीले बताइन्।

पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने भएको छ।

जोखिम छ भनेर नबनाई बस्ने अवस्था पनि छैन

सडक विभागका लागि समस्या के हो भने नयाँ ट्रयाक खोल्दा पहिरो जाने जोखिम छ, तर केही नगरी बस्ने अवस्था पनि छैन।

तल्लो भागबाट वाल लगाएर सडक पुनर्निर्माण गर्ने हो भने लामो समय लाग्ने देखिन्छ। त्यसैले तत्काल राजधानीसँगको आपूर्ति र आवागमन जोड्न जोखिम मोलेरै माथिबाट अस्थायी सडक खोल्ने विकल्प रोज्नुपर्ने अवस्था आएको अधिकारी बताउँछिन्।

‘अस्थायी सडक बनाउँदा पहिरो नझरेमा करिब ७ देखि १० दिन लाग्न सक्छ। तर माथिबाट पहिरो आयो भने त्यसलाई पनि ग्याबियन वाललगायतका संरचना बनाएर स्टेबल गर्नुपर्ने हुन्छ। त्यस अवस्थामा समय अझै लम्बिन सक्छ,’ अधिकारीले भनिन्।

उनका अनुसार नयाँ ट्रयाक बनेपछि पनि एकैपटक सबै प्रकारका सवारीसाधन सञ्चालन गरिने छैन।

पहिलो चरणमा साना तथा हलुका सवारीसाधन पठाएर सडकको अवस्था परीक्षण गरिनेछ। त्यसमा समस्या नदेखिए मध्यम खालका सवारीसाधन, त्यसपछि मात्रै भारी सवारीसाधन सञ्चालन गर्ने योजना छ।

यसको अर्थ अस्थायी सडक निर्माण सम्पन्न भएलगत्तै ठूला बस, ट्रक तथा मालवाहक सवारीसाधन सञ्चालनमा ल्याउन सकिने अवस्था भने छैन। सडकले कति भार धान्न सक्छ भन्ने परीक्षण गरेपछि मात्रै पूर्ण रूपमा सञ्चालन गर्ने विभागको तयारी छ।

पुरानो घाउ बल्झिने डर

कृष्णभीरको अर्को ठूलो समस्या यसको भौगोलिक संवेदनशीलता देखिन्छ। किनभने यो क्षेत्र लामो समयदेखि पहिरोका कारण समस्याग्रस्त रहँदै आएको छ। केही वर्षको निरन्तर प्रयासपछि मात्रै पहिरो नियन्त्रणमा ल्याएर सडकलाई स्थिर बनाइएको थियो।

त्यसैले सडक विभाग नयाँ ट्रयाक खोल्दा त्यही पुरानो पहिरो फेरि सक्रिय हुने हो कि भन्नेमा सतर्क छ।

हामी कृष्णभिरको सडक भासिएको स्थानमा पुग्दा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल पनि स्थलगत निरीक्षणमा थिए। उनका अनुसार अवस्था सोचिएभन्दा निकै जटिल छ।

‘हामीले सोचेभन्दा धेरै ठुलो अप्ठेरो छ। तल करिब ७० मिटरजति सडक भासिएको छ। अझै जोखिम छ। त्रिशूलीले सडक कटान गर्न छाडेको छैन,’ अर्यालले भने। उनका अनुसार अहिलेको सडकभन्दा माथिबाट नयाँ सडक खोल्दा पनि पुरानो पहिरो बल्झिने जोखिम उत्तिकै छ। ‘तल्लो भाग बलियो छैन। यो धेरै पहिलादेखिको क्रोनिक ठाउँ हो,’ उनले भने।

स्थानीयका अनुसार अहिलेको सडक संरचना नै पहिले पहिरो नियन्त्रणका लागि वाल लगाएर नदीतर्फ उठाइएको भागमा बनेको हो। पुरानो सडक भने पहिरो नियन्त्रणका लागि बनाइएको ग्याबियनको मुनि रहेको र बलियो पहाडमा जोडिएको उनीहरूको भनाइ छ।

तर, कृष्णभीरको पहाड चिप्लिने प्रकृतिको भएकाले नयाँ ट्रयाकले थप भार धान्न सक्छ कि सक्दैन भन्ने मुख्य प्रश्न रहेको स्थानीय बताउँछन्। यसैले माथिबाट सडक खोल्ने काम केवल डोजर चलाएर ट्रयाक बनाउने विषय नभई त्यसको भार, पहाडको स्थायित्व र तलको सडक संरचनामा पर्ने प्रभावसमेत परीक्षण गर्नुपर्ने अवस्था छ।

वैकल्पिक सडकले मात्रै धान्दैन काठमाडौंको आपूर्ति

अहिले सडक विभागसँग तत्कालीन र दीर्घकालीन दुवै चुनौती छन्। तत्काल सडक नखोल्ने हो भने काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा थप दबाब पर्न सक्छ। वैकल्पिक सडकहरूबाट मात्रै राजधानीको वर्तमान आवागमन र आपूर्ति धान्न कठिन हुने विभागको निष्कर्ष छ।

तर, हतारमा अस्थायी सडक खोल्दा कृष्णभीरको पुरानो पहिरो फेरि सक्रिय भयो भने अहिलेभन्दा ठूलो समस्या निम्तिन सक्छ।

त्यसैले कृष्णभीरमा सरकारको चुनौती केवल सडक खोल्ने होइन, सडक खोल्दा फेरि पहिरो नखस्ने सुनिश्चित गर्ने पनि हो।

अहिले सडक विभाग यही जोखिमको बीचमा तत्कालीन विकल्प खोजिरहेको छ। माथिबाट नयाँ ट्रयाक खोल्ने काम सुरु भए पनि त्यसले कति भार धान्छ, पहाडले कस्तो प्रतिक्रिया दिन्छ र पुरानो पहिरो सक्रिय हुन्छ कि हुँदैन भन्ने परीक्षणपछि मात्रै पृथ्वी राजमार्गको यो महत्त्वपूर्ण खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालन हुनेछन्।

यसकारण सरकारले भनेजस्तो केही दिनमै कृष्णभिरमा पूर्ण रूपमा सडक खुल्ने अवस्था देखिँदैन।

दीर्घकालीन समाधान अझै टाढा

दीर्घकालीन समाधान अझै टाढा छ। अस्थायी सडक बनेर यातायात सञ्चालन भए पनि कृष्णभीरको समस्या सकिँदैन।

अहिले त्रिशूलीले काटेको तल्लो सडकलाई दीर्घकालीन रूपमा कसरी पुनर्निर्माण गर्ने भन्ने अर्को ठूलो चुनौती हो। तलबाट वाल लगाएर सडक उठाउने हो भने लामो समय लाग्ने देखिन्छ। त्यसैले दीर्घकालीन सडक संरचना र कृष्णभीरको विकल्पबारे नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक सहयोगमा अध्ययन गर्ने योजना अघि सारिएको छ।

यो अध्ययनले कृष्णभीरमा फेरि सडक बनाउँदा नदीको कटान, पहाडको स्थायित्व र पहिरोको जोखिमलाई कसरी व्यवस्थापन गर्ने भन्ने तय गर्नेछ।