चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौं बाहिर खाना पकाउने ग्यास भरेर लैजान थालिएको छ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो। साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटीसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ।
बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार चितवनको बाबा ग्यासले १ हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा छ।
यस्तै, यहाँको साइबाबाले आफ्नै ९०० सिलिन्डर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको १ हजार २०० सिलिन्डर भरेर पठाएको छ।
गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको साहारामा काठमाडौंको एभरेष्ट र सुगमको ग्यास भरेर पठाइएको छ।
उनले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ।’
सञ्चालक विमल कालाखेतीका अनुसारा बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यास लगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभुवन राजपथबाट पठाउन सुरु गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्यसमेत रहेका सञ्चालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताए।
गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हालसम्मको बढी भएको बताए। उनका अनुसार सोही अनुपातमा ग्यास आइरहेकाले समस्या पर्ने अवस्था छैन।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए। उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट-सुस्तापूर्व), नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका छन्।
उपत्यका र छिमेकी जिल्लामा कुल खपतको ४० प्रतिशत खपत हुने उनी बताउँछन्। रासस