काठमाडौं। उत्तरी नाका ठप्प भएकाले यसपटकको दसैं बजार कस्तो होला? चिनियाँ सामानको भाउ कति पुग्ला? काठमाडौंमा चिनियाँ मालवस्तुको बजार देखेकाहरुले अब गर्न थालेको बहसको विषय हो यो। अबको ४० दिनमा दसैं सुरु हुन्छ। त्यसका लागि बजारभाउ के होला?
यो सर्वसाधारण उपभोक्ताको मात्रै नभइ नेपाल-चीन आयात व्यापार गर्ने व्यवसायीदेखि तिनका थोक र खुद्रा बिक्रेतासम्मका लागि चासो र चिन्ताको विषय भएको छ। भदौ १० गते बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीसँगै रसुवागढी नाका ठप्प भएको छ। बाढीले नेपालतर्फ मात्रै होइन, चीनतर्फ पनि सडक, भन्सार तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। एकातिर बाढीबाट जनधनको ठूलो क्षति भएको छ। चीनसँगको व्यापारका लागि प्रमुख मानिएको उत्तरी नाका बन्द हुँदा विकल्पमाथि पनि चर्चा सुरु हुँदैछ।
रसुवा भन्सार कार्यालयबाट वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुँदै आएको थियो। उक्त नाका हुँदै चीनबाट वार्षिक ८० अर्ब रुपैयाँभन्दा बढी मूल्यका तयारी कपडा, विद्युतीय गाडी, इलेक्ट्रिकल सामान, स्याउ, नासपाती, श्रीफल, होजियारी कपडा, रबर, प्लास्टिकका जुत्ता–चप्पल तथा लेडिज स्यान्डललगायत वस्तु आयात हुने गरेका छन्।
विशेषगरी दसैं, तिहारलगायत चाडपर्वका लागि सामान आयात गर्ने समय भएकाले अहिले रसुवागढी नाका बन्द हुँदा व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन्। चाडपर्व सुरु हुनुभन्दा करिब दुई महिना अघिदेखि व्यापार कारोबार अन्य समयको तुलनामा १० गुणासम्म बढ्ने भएकाले व्यवसायीले बैंकबाट ऋण लिएर ठूलो परिमाणमा सामान आयात गर्ने गरेका छन्। यसपटक पनि बजारमा राम्रो कारोबार हुने अपेक्षामा व्यवसायीले ठूलो लगानी गरेर सामान आयात गरेका थिए। तर पाँच दिन अघिको बाढीले उनीहरूको ठूलो लगानी नै बगाइदिएको छ।

बाढीले भन्सारको यार्ड तथा आसपासमा रहेका व्यवसायी, एजेन्ट, चालक र सहचालकसहित सयौं कन्टेनर बगाएको छ। कतिपय कन्टेनरमा व्यवसायीले चाडपर्व लक्षित गरेर आयात गरेका सामान थिए। जनधनसँगै करोडौं रुपैयाँको मालवस्तु क्षति भएपछि व्यवसायी अहिले स्तब्ध छन्। आफूले बैंकबाट ऋण लिएर ल्याएको सामानसहित कन्टेनर नै हराएपछि उनीहरूमा व्यवसाय कसरी अघि बढाउने र भएको घाटा कसरी पूर्ति गर्ने भन्ने चिन्ता थपिएको छ।
तातोपानी नाका लामो समय बन्द रहेकाले चीनबाट हुने आयातको ठूलो हिस्सा रसुवा नाकामा केन्द्रित भएको थियो। तातोपानी नाकाबाट आयातका लागि अर्डर गरिएका सामानसमेत बाटो बन्द भएपछि व्यवसायीले रसुवा नाकाबाट ल्याउन थालेका थिए। त्यसका कारण पछिल्लो समय रसुवागढी हुँदै ठूलो परिमाणमा सामान आयात भइरहेको थियो। सामानसँगै कन्टेनर, चालक तथा सहचालकसमेत यही नाकाबाट आवतजावतमा केन्द्रित थिए।
गत साउनमा वर्षाका कारण नेपालतर्फको सडक पहिरोले अवरुद्ध हुँदा रसुवा नाकाबाट आयात नियमित हुन सकेको थिएन। तर पछिल्लो दुई सातादेखि मौसम सामान्य हुनुका साथै अवरुद्ध सडक सञ्चालनमा आएपछि केरुङ नाकाबाट आयात क्रमशः बढ्दै गएको थियो। बाढी आउनुअघि रसुवा नाकाबाट दैनिक २० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रिने गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा आयातको परिमाण अझ बढिरहेको थियो।
हरेक वर्ष चाडपर्वको समयमा यो नाकाबाट दैनिक ३५ भन्दा बढी कन्टेनर सामान आयात हुने गरेको व्यवसायी बताउँछन्। अहिले रसुवा र तातोपानी दुवै उत्तरी नाका प्रभावित भएपछि चीनबाट आयात हुने सामान अब कुन नाकाबाट ल्याउने भन्ने अन्योल व्यवसायीमा बढेको छ।

व्यवसायीले चीनबाट सामान आयात गर्न रसुवा, तातोपानी, कोरला र बाइसिप हुँदै विभिन्न रुट प्रयोग गर्दै आएका छन्। उत्तरी नाकाबाट सामान आयात गर्दा समय र खर्च दुवै कम लाग्छ। तर बाइसिप हुँदै सामान ल्याउँदा कम्तीमा ४५ दिन लाग्ने व्यवसायी बताउँछन्। केही व्यवसायीले हलुका सामान हवाई मार्गबाट ल्याउने गरेका छन् भने कतिपयले नियमित रूपमा बाइसिपको रुट प्रयोग गर्दै आएका छन्। तर चाडपर्व लक्षित गरेर ठूलो परिमाणमा सामान आयात गरिरहेका व्यवसायीका लागि तत्काल वैकल्पिक रुट रोज्नु सहज छैन।
रन्जना कम्प्लेक्सका व्यवसायी राम गजुरेलले बाढीका कारण आफूले आयात गरेको एक कन्टेनर सामान बगेको बताए। यसपटक चाडपर्व लक्षित गरेर ५० लाख रुपैयाँभन्दा बढीको सामान अर्डर गरेको र उक्त सामान भन्सार जाँचपास गर्न लाइनमा रहेको अवस्थामा बाढीले बगाएको उनको भनाइ छ। ‘बैंकबाट ऋण लिएर आयात गरेको सामान बगायो,’ उनले भने, ‘अब नयाँ सामान मगाउन अहिल्यै कुनै योजना बनाउन सक्ने अवस्था रहेन।’
उनका अनुसार अहिले नयाँ सामान अर्डर गरे पनि दसैंअघि नेपाल आइपुग्ने सम्भावना पनि कम छ। त्यसैले बाढीबाट भएको क्षतिपछि तत्काल नयाँ लगानी गरेर सामान आयात गर्ने अवस्था नरहेको उनले बताए।
आरबि कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष तथा आयातकर्ता परशुराम दाहालले पनि बाढीपछि व्यवसायी नयाँ सामान आयात गर्ने विषयमा अन्योलमा रहेको बताए। ‘बाढीले धेरै व्यवसायीको सामान बगाएको छ। ठूलो लगानी सबै डुबेपछि व्यवसायीहरुमा अन्योल छ। कुनै निर्णय लिन समय लाग्छ,’ उनले भने।
कतिपय व्यवसायीले आयात गरेका सामान चीनतर्फकै केरुङमा रोकिएका छन्। आयात गरिएको सामानको ‘वे बिल’ हुने भएकाले उक्त बिलका आधारमा केरुङ पुगेर सामान बुझ्नुपर्ने हुन्छ। अहिले केरुङको पेरुहाङमा करिब १७६ भन्दा बढी कन्टेनर रोकिएको जानकारी आएको दाहालले बताए। बाढीबाट जोगिएको सामान पहिले तातोपानी वा मुस्ताङ नाकाबाट ल्याउने प्रयास हुने र त्यसपछि मात्रै नयाँ सामान आयात गर्ने वा नगर्ने निर्णय हुने उनको भनाइ छ।
‘चाडपर्व लक्षित गरेर नयाँ सामान आयात गर्ने हो भने मुस्ताङ, बाइसिप वा बाइ एयरबाट ल्याउनुपर्छ,’ उनले भने, ‘सबै व्यवसायीले बाइ एयरबाट आयात गर्न सक्दैनन्। बाइसिपबाट आयात गर्न पर्याप्त समय छैन। त्यसैले अबको विकल्प मुस्ताङ नै हो।’
महाबौद्धका व्यवसायी तथा आयातकर्ता रमेशकुमार श्रेष्ठले पनि रसुवाको बाढीले आफ्नो दुई कन्टेनर सामान बगाएपछि नयाँ निर्णय लिन नसकेको बताउँछन्। ‘चालकसहित सामान भएको र सामान लिन जान लागेको कन्टेनर सबै बगाएको छ। चाडपर्वका लागि पहिले केही सामान आयात भइसकेका छन्। अब नयाँ सामान ल्याउन समय धेरै छैन,’ उनले भने, ‘आयात गर्दा पनि कहाँबाट गर्ने भन्ने अन्योल छ। मुस्ताङबाट ल्याउनु टाढा पर्छ। बाइसिपबाट ल्याउन समय कम छ।’
उनका अनुसार यसपटक बजारमा चाडपर्व लक्षित सामान पर्याप्त नहुन सक्छ। नयाँ आयात भए पनि विगतको तुलनामा कम हुने सम्भावना छ। त्यसैले व्यवसायीले यसअघि आयात भएका र मौज्दातमा रहेका सामान बिक्री गरेर बजार धान्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।
‘व्यापार हुने समय भएकाले सामान जसरी पनि आयात गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तर पहिले ऋण लिएर हालेको सामान बाढीले बगाएपछि यतिबेला व्यवसायीलाई थप समस्या भएको छ, कुन पैसाले इम्पोर्ट गर्ने?’
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले उत्तरी नाका प्रभावित भएपछि चाडपर्व लक्षित सामान आयात गर्न चुनौती थपिएको बताए। कोरला नाकालाई प्रभावकारी रूपमा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।
‘कोरला नाकाबाट सामान आयात गर्दा सरकारले ट्रयाकिङ सिस्टम गरे व्यवसायीलाई सहज हुन्छ,’ उनले भने, ‘मुस्ताङ भन्सारमा पर्याप्त संरचना बनेका छैनन्। त्यसैले चोभारमा रहेको सुक्खा बन्दरगाहमा भन्सार पास हुने गरी ट्रयाकिङ गर्ने व्यवस्था गर्नुपर्छ।’
उनका अनुसार चिनियाँ सामान आयातका लागि रसुवा र तातोपानीको तुलनामा कोरला नाका पनि व्यवसायीका लागि सहज विकल्प बन्न सक्छ। तर अहिले केरुङतर्फ लोड भएर रोकिएका सयौं कन्टेनरको सामान तत्काल कोरला हुँदै ल्याउन सहज छैन। केरुङमा रोकिएको सामान कोरला हुँदै ल्याउँदा समय र खर्च दुवै बढ्ने भएकाले व्यवसायीलाई तत्काल त्यसतर्फ जान कठिन भएको उनले बताए।
‘बाइसिप हुँदै सामान आइपुग्न ४५ दिनभन्दा बढी समय लाग्छ। त्यसैले तत्कालका लागि सम्भव छैन,’ कार्कीले भने। उनका अनुसार अहिले प्राथमिकता केरुङमा रोकिएका सामान सुरक्षित रूपमा नेपाल ल्याउने र त्यसपछि मात्रै नयाँ आयातको योजना बनाउनेतर्फ हुनुपर्छ।
कुलेश्वरस्थित फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँ चीनबाट चाँडै बिग्रने फलफूल बाइसिप हुँदै ल्याउन सम्भव नभएको बताउँछन्। गत साउनमा रसुवा नाकाको बाटो बिग्रिँदा केही दिन सामान आउन नसक्दा आँप, ड्रागन फ्रुटलगायत फलफूल बिग्रिएर फाल्नुपरेको उनले स्मरण गरे।
‘अब चाडपर्वका लागि आयात गरेको फलफूल बाइसिपबाट गर्दा समयमा आइपुग्दैन। स्याउलगायत केही मात्र यो रुटबाट ल्याउन सकिन्छ,’ उनले भने, ‘तर व्यवसायीहरू तत्काल आयात गर्न तयार भइसकेका छैनन्।’
चाडपर्वका लागि आयात गरेर भन्सारसम्म आइपुगेका धेरै फलफूल बाढीले बगाएको छ। केही सामान भने चीनतर्फ रोकिएका छन्। अहिले पहिलो प्राथमिकता त्यहाँ रोकिएको सामान नेपाल ल्याउने रहेको बानियाँले बताए। ‘त्यसपछि मात्रै नयाँ अर्डर गर्ने हो,’ उनले भने।
उनका अनुसार अहिले चीनबाट स्याउ नआए पनि तत्काल बजारमा ठूलो समस्या हुँदैन। ‘यतिबेला चीनबाट स्याउ नआए पनि समस्या छैन। मुस्ताङ र कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउ बजारमा आउन थालेको हुँदा चीनबाट नआए पनि तत्कालका लागि समस्या हुँदैन,’ उनले भने।

कोरलाबाट सामान ल्याउन व्यवसायी आइसकेका छैनन् : मुस्ताङ भन्सार
चाडपर्वको समयमा उत्तरी नाका बन्द हुँदा सरकारले वैकल्पिक नाकाका रूपमा मुस्ताङको कोरला नाकालाई सञ्चालनमा ल्याएको थियो। उक्त नाका अहिले पनि खुला छ। गत वर्षदेखि नै कोरला नाकाबाट नियमित रूपमा सामान आयात हुँदै आएको छ। चालु आर्थिक वर्षमा पनि उत्तरी नाका प्रभावित भएपछि केही व्यवसायीले कोरलाबाट विद्युतीय गाडी तथा चाडपर्व लक्षित सामान ल्याइरहेका छन्।
गत साता रसुवामा आएको भीषण बाढीले सडकसहित भन्सार कार्यालयका संरचनासमेत बगाएको छ। व्यवसायीले आयात गरेका केही सामान चीनतर्फ केरुङमा रोकिएका छन्। भन्सार विभागले चीनतर्फ रोकिएको सामान बैंकलाई जानकारी गराएर अर्को नाकाबाट नेपाल ल्याउन सहजीकरण गर्ने व्यवस्था गरेको छ।
तर रसुवा बाढीका कारण व्यवसायीहरू केरुङमा बाँकी रहेको सामान ल्याउन र नयाँ सामान आयात गर्न तत्काल तयार नदेखिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले बताए।
‘अहिले भन्सारसहित व्यवसायी सबै शोकमा छन्। यो घटनाबाट बाहिर निस्कन केही समय लाग्छ। अहिले कोरला नाकाबाट सामान ल्याइहाल्छु भनेर कोही व्यवसायीले भनेका छैनन्,’ उनले भने, ‘पहिले आयात गर्नेले मात्र ल्याइरहेका छन्।’
उनका अनुसार मुस्ताङ भन्सारबाट अहिले दैनिक ८ देखि १० कन्टेनर सामान नेपाल भित्रिने गरेको छ। रसुवामा बाढी आएपछि कोरला नाकाबाट हुने आयातमा भने वृद्धि भएको छैन। केरुङमा रोकिएको सामान पहिले नेपाल ल्याएपछि मात्रै व्यवसायीले थप आयात गर्ने वा नगर्ने निर्णय गर्ने उनले बताए।
‘उत्तरी नाकाबाट आयात गर्दै आएका व्यवसायीहरूले मुस्ताङबाट सामान ल्याउन लागेको जानकारी हालसम्म आएको छैन,’ प्रमुख चुडालले भने।