काठमाडौं। प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन, प्रसारण र सीमापार विद्युत् व्यापारमा पर्न सक्ने जोखिम अध्ययन गर्न दक्षिण एसियाली मुलुक सम्मिलित प्राविधिक कार्यदल गठन भएको छ।
दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको कार्यसमिति तथा निर्देशक समितिको भदौ १४ र १५ गते भारतको हरियाणामा भएको बैठकले कार्यदलको नेतृत्व नेपालको विद्युत् नियमन आयोगले गर्ने निर्णय गरेको छ। कार्यदलमा भारत, भुटान, बंगलादेश र श्रीलंकाका नियामक निकाय सदस्य छन्।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार कार्यदलले प्राकृतिक विपद्का समयमा अपनाउनुपर्ने नियामकीय मापदण्ड, जोखिम बाँडफाँड संयन्त्र तथा विपद्को अवस्थामा समेत सीमापार विद्युत् व्यापारको निरन्तरता सुनिश्चित गर्ने साझा क्षेत्रीय नियामकीय खाका तयार गर्न अध्ययन गर्नेछ।
नदी बेसिनमा हुने ठूलो प्राकृतिक विपद्ले विद्युत् उत्पादन, प्रसारण, आपूर्ति, विद्युत् व्यापार, वित्तीय दायित्व तथा सीमापार विद्युत् प्रवाहमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्न सक्ने भएकाले प्राकृतिक विपद्का बेलासमेत सीमापार विद्युत् व्यापारलाई निरन्तरता दिने सुनिश्चितता गर्न साझा नियामकीय खाकाबारे अध्ययन गर्न लागिएको हो।