काठमाडौं। बुधबार अपराह्न अर्थ मन्त्रालय प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले सोधे- केका लागि होला?
मन्त्रीज्यूको सचिवालयमा जानु छ, भनेपछि ‘ए सहयोगका लागि हो..? भन्दै उनले जान अनुमति दिए। बजेट लेखनको समयमा बाहेक यसरी मन्त्रालयमा प्रवेश गर्दा सुरक्षाकर्मीले हत्तपत्त केका लागि भनेर सोध्दैनथे।
बुधबार अपराह्न सुरक्षाकर्मीको प्रश्न र जवाफबाटै थाहा हुन्छ- पछिल्लो समय अर्थ मन्त्रालयमा कसरी सहयोगी हातहरूको भीड लागेको छ।
दिनदिनै नयाँ नयाँ व्यक्ति मन्त्रालय आइरहेको र उनीहरुलाई मन्त्रीको सचिवालय पत्ता लगाउन सजिलो होस् भनेर ढोकामै बसेर सोधपुछ गर्न थालेको ती सुरक्षाकर्मीले बताए।
उनीसँग छोटो कुराकानीपछि मन्त्रालयको पहिलो तला उक्लिंदा करिब १ बजेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यकक्ष बाहिरको नेमप्लेटमा ‘बाहिर’ लेखिएको थियो। तर, उनको कार्यकक्ष नजिकै बनाइएको प्रतीक्षा कक्षमा भने मानिसहरु खचाखच थियए।
उनीहरू अर्थमन्त्रीलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्दार कोषका नाममा काटिएको चेक हस्तान्तरणको प्रतीक्षामा थिए।
‘मंगलबार नै भेट्न खोजेका थियौँ। समय नमिलेपछि आज आउनुपर्यो। अहिले यहाँ आएको करिब २० मिनेट जति भयो,’ अर्थमन्त्रीलाई भेट्ने पालो कुरिरहेकामध्ये एकजनाले भने।
निर्धारित समयमै मन्त्रीको कार्यकक्ष पुगे पनि मन्त्री अरू काममा व्यस्त थिए। त्यसैले सचिवालयले उनीहरूलाई केहीबेर कुर्न भनेको थियो।
कार्यकक्षमा दुईवटा टोली अर्थमन्त्रीलाई कुरिरहेको थियो। अर्का समूहबाट तीनजना पनि अर्थमन्त्रीलाई भेटेर चेक हस्तान्तरणको प्रतीक्षामा बसिरहेका थिए।
अर्थमन्त्री वाग्लेको सचिवालयका सदस्यहरूका अनुसार पछिल्ला दिनमा समय मिलाइदिन भन्दै दैनिक सयौं फोन आउन थालेको छ। त्यसमध्ये धेरैलाई सिंहदरबार छिर्न गेटपास पनि मिलाइदिनुपर्छ।

१५-२० मिनेट बस्दा सचिवालयका सदस्यहरूको फोन लगातार व्यस्त नै थियो। जसमध्ये धेरैजनाको एउटै जिज्ञासा हुन्थ्यो- मन्त्रीज्यूलाई चेक हस्तान्तरण गर्नुछ। कसरी मिलाउने?
‘अहिले अधिकांश फोन अर्थमन्त्रीज्यूको भेट मिलाउनकै लागि आउँछ। धेरैको सिंहदरबार प्रवेश गर्ने अनुमति नहुने भएकाले पासको व्यवस्था पनि गरिदिनुपर्छ,’ सचिवालयका एक सदस्यले भने।
सिधै सिंहदरबारको गेटमा आएर ‘अर्थ मन्त्रालय कता छ?’ भनेर सोध्ने पनि हुन्छन्। यसरी व्यक्तिगत रुपमा आउने केहीलाई गेटका सुरक्षाकर्मीले अर्थ मन्त्रालयसँग समन्वय गराएर भित्र पठाउने गरेका छन्।
यसमध्ये कतिले अर्थमन्त्रीलाई भेट्ने समय पाउँछन्, केहीले पाउँदैनन्। उनीहरूमध्ये कतिपय मन्त्रालयका कर्मचारीलाई चेक दिएर फर्किने गरेका छन्। ‘सकभर सबैलाई भेट्ने व्यवस्था मिलाइदिउँ भन्ने हुन्छ। तर मन्त्रीज्यूको समय नै मिल्दैन,’ सचिवालयका ती सदस्यले भने।
मन्त्रालयले बुधबारदेखि भने भेटघाटलाई केही कडा बनाएको छ। अधिकांश समय चेक बुझ्नैमा बित्न थालेपछि भेटघाट केही कम गरिएको छ। ठूलो रकम र टाढाबाट आउनेलाई प्राथमिकतामा राखिएको सचिवालय सदस्यहरूले बताएका छन्।
रसुवा बाढीपछिको एक हप्ता अर्थ मन्त्रालय परिसर यसैगरी व्यस्त छ। मन्त्रालयको पार्किङ लट करिब करिब भरिएको जस्तो देखिन्थ्यो। विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्न आउनेहरूको लर्को मन्त्रालय परिसरमा देखिन्छ।
मन्त्रालयले स्रोत जुटाउन दातृ निकायसँग पनि उत्तिकै समन्वय र सहकार्य गरिरहेको छ। जसका लागि कूटनीतिक नियोगदेखि अन्तर्राष्ट्रिय संस्थाहरूसँगको भेटघाट बाक्लो भएको छ।

मन्त्रीलाई भेट्न आउनेहरू बढेपछि अर्थ मन्त्रालयले भर्याङको छेउमा रहेको खाली स्थान र वरपर पनि केही व्यक्ति अट्न मिल्ने सोफा र कुर्सी थप गरेको छ। ‘भेट्न आउनेहरू सचिवालय कक्षमा नअट्ने भएपछि बाहिर पनि व्यवस्था गरिएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने।
बाढी गएकै दिन भदौ १० गते साँझ कोषमा रकम सहयोग गर्न प्रधानमन्त्रीले नै अपिल गरेपछि आम सर्वसाधारण र संघसंस्थाले सहयोगको हात अगाडि बढाउन थालेका थिए। त्यसपछि सहयोग घोषणा गर्ने र अर्थमन्त्रीलाई भेटेर चेक हस्तान्तरण गर्नेको घुइँचो लाग्न थालेको हो।
सिधै उद्धार तथा राहत कोषको खातामा वा क्युआरमार्फत रकम जम्मा गर्न मिल्ने व्यवस्था छ। तर, पनि अर्थ मन्त्रालय धाउनेको भीड कम भएको छैन।
मंगलबारमात्रै राहत कोषका लागि चेक हस्तान्तरण गर्ने ८० वटा टिमले अर्थमन्त्रीलाई भेटेका थिए। उनीहरुबाट मात्र २५ करोड ६७ लाख रुपैयाँ संकलन भएको थियो।
प्रधानमन्त्री राहत कोषमा हाल ६ अर्ब ८८ लाख रुपैयाँ छ। एक अर्ब रुपैयाँ मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिएको थियो।