BIZMANDU
www.bizmandu.com

सेयर बजार १५.४४ अंक बढेर २५३८.११ विन्दुमा, बाढीपछि हाइड्रोपावर सूचक बल्ल उच्च

२०८३ भदौ १७

सेयर बजार १५.४४ अंक बढेर २५३८.११ विन्दुमा, बाढीपछि हाइड्रोपावर सूचक बल्ल उच्च
सेयर बजार १५.४४ अंक बढेर २५३८.११ विन्दुमा, बाढीपछि हाइड्रोपावर सूचक बल्ल उच्च


काठमाडौं। सेयर बजार बुधबार दोस्रो दिन बढेको छ। नेप्से परिसूचक १५.४४ अंक बढेर २५३८.११ विन्दुमा पुगेको छ। कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी बाहेकका उपसमुहले बजार बढाएका हुन्।

Vigo
GBIME
Tata

हाइड्रोपावरको सूचक सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ। भदौ १० गते रसुवा र नुवाकोटमा विनाशकारी बाढीले जनधनको ठूलो क्षति गरेको थियो। बाढीले दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको थियो। जसका कारण सेयर बजारमा उच्च अंकले घटेको हाइड्रो सूचक बुधबार बल्ल उकालो लागेको छ।

१९३ कम्पनीको सेयर मूल्य बढेको छ। उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशत बढेको छ। माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको सेयर मूल्य १०.२३ प्रतिशतले बढेको छ। माथिल्लो मैलुङ बाढीबाट प्रभावितमध्येको एउटा आयोजना हो।

भोटेकोशीमा आएको बाढीपछि निरन्तर सेयर मूल्य घटेकामा आत्तिएका जलविद्युत लगानीकर्तालाई बुधबार सूचक सम्हालिँदा राहत भएको छ। सूचकसँगै बजारमा कारोबार रकम बढेको छ।

मंगलबार २ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबारमा भएकामा बुधबार २ अर्ब ९४ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सानिमा मिडल तमोरको सबैभन्दा धेरै १४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजारमा ७५ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको स्थिर रह्यो।