BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति, १४२ होटल र ५७ रेस्टुरेन्ट ध्वस्त

२०८३ भदौ १७

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति, १४२ होटल र ५७ रेस्टुरेन्ट ध्वस्त
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको १७औँ बैठक । तस्बिरः गोपाल दाहाल/रासस


काठमाडौं। सरकारले भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ।

Vigo
GBIME
Tata

पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए।

उनका अनुसार बाढीका कारण १४२ वटा होटल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन क्षति भएको छ।

बाढीग्रस्त रसुवा र नुवाकोटका धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको छ। मन्त्री पौडेलले लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथली पदमार्गमा क्षति पुगेकाले अब वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था रहेको बताए।

उनले प्रभावित क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने योजना रहेको भन्दै त्यस क्षेत्रमा सङ्ग्रहालय, स्मारक, पार्क वा अन्य संरचना निर्माण गर्ने विषयमा सरोकारवालासँग छलफल गरेर निर्णय गर्ने बताए।

जलवायु परिवर्तनका कारण नेपालले आफूले नगरेको गल्तीमा पनि ठूलो विपत्ति भोग्नुपरेको भन्दै मन्त्री पौडेलले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायले आवश्यक सहयोग र प्रविधि उपलब्ध गराउनुपर्ने बताए।

मन्त्री पौडेलले बाढी प्रभावितको उद्धारका लागि हेलिकोप्टर व्यवसायीले तथा पोखरा, चितवन, काठमाडौंलगायत स्थानका होटल व्यवसायीले प्रभावितलाई निःशुल्क बस्न र खान दिएको भन्दै धन्यवाद दिए।