काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत आयोजनामा फसेका कर्मचारीको उद्धारका लागि विदेशी सहयोग सुरुदेखि नै नरोकेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा रसुवा बाढीबारे जानकारी गराउँदै उनले विदेशी विशेषज्ञको सहयोग सुरुबाटै नरोकेको तर हिलो र लेदोका कारण सुरुङ भएको ठाउँमा पुग्न भने समय लागेको बताए।
उनले भारत र चीनका प्राविधिकले सुरुमा आयोजनास्थलको हेलिकोप्टरमार्फत रेकी गरेको तर लेदोका कारण उद्धारका लागि तत्काल जान नसकिने बताएको पनि जानकारी गराएका थिए।
‘यति ठूलो विपद् पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरै आउँदैन। प्रभावित क्षेत्रमा सहयोग लिन सुरुदेखि नै हामीले समन्वय गरेका थियौं। प्रक्रिया समेत छोटो गराएर अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं। मित्र राष्ट्र चीन र भारतबाट टेक्निसियन पठाउनुभएको थियो। उहाँहरुले सुरुकै दिनदेखि रेकी गरिरहनुभएको थियो। त्यो क्षेत्रमा कस्तो क्षति भएको छ? त्यहाँ पुग्न सकिन्छ कि सकिंदैन भन्नेबारे रेकी गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन भने,’ बालेनले भने।
बालेनले थप भने, ‘ओर्लिन मिल्ने अवस्था भएपछि भारत र चीनका टेक्निसियन नेपाली टोलीसहित गएका हुन्। यो चाँहि विशेष अवस्था हो। त्यहाँको हिलो लेदोमा स्काभेटर मात्र नभएर आर्मी प्रहरी पनि अडिने ठाउँ थिएन। सम्भव भएसम्म सुतेर जाने प्रयास गरे। हेलिकोप्टर ल्याण्ड गर्ने र स्काभेटर लाने अवस्था भएपछि मात्र उद्धार कार्य सुरु गरिएको हो।’