BIZMANDU
www.bizmandu.com

ग्यास काठमाडौं ल्याउन रातारात हेटौंडा पुगे उद्योगी, ‘जनताको चुल्हो निभ्न नदिन प्रयास गरिरहेका छौं’

२०८३ भदौ १७

ग्यास काठमाडौं ल्याउन रातारात हेटौंडा पुगे उद्योगी, ‘जनताको चुल्हो निभ्न नदिन प्रयास गरिरहेका छौं’
ग्यास काठमाडौं ल्याउन रातारात हेटौंडा पुगे उद्योगी, ‘जनताको चुल्हो निभ्न नदिन प्रयास गरिरहेका छौं’


काठमाडौं। भारतले २०७२ भदौदेखि अघोषित नाकाबन्दी लगायो। नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आपूर्ति सरकारका लागि टाउको दुखाईको विषय बन्यो।

Vigo
GBIME
Tata

देशले कठिन अवस्था भोगिरहेका बेला उनै व्यवसायीहरुले अग्रपंक्तिमा उभिएर पेट्रोलियम आपूर्तिमा अग्रसरता देखाए। उनीहरुले चीनबाट ग्यास ल्याउन समेत गृहकार्य गरे। ओम शिव पेट्रो प्रालिले चीनको न्यालमबाट ग्यास ल्याउने प्रस्ताव समेत आयल निगमलाई गर्‍यो। यो कम्पनीका संचालक थिए, शिवप्रसाद घिमिरे।

खासाबाट ३२ किलोमिटर टाढा रहेको न्यालममा पेट्रो चाइनाको बोटलिङ प्लान्टमा भरेर ग्यास ल्याउने प्रस्ताव कम्पनीले गरेको थियो। पेट्रो चाइनाको डिस्ट्रिब्यूटरसँग कुराकानी गरेर ग्यास पाउने भएपछि कम्पनीले निगमलाई प्रस्ताव गरेको थियो।

भलै चीनबाट १० लाख लिटर पेट्रोल मात्रै आयो, ग्यास आउन सकेन। तर, निजी क्षेत्रले आफ्नो व्यापारभन्दा देशलाई संकटमा पर्दा जसरी भए पनि आपूर्ति गर्ने अठोट देखाए। हो, ११ वर्षअघि जस्तै अहिले भोटेकोशी बाढीले काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्ग कृष्णभीरको सडक भासिएका कारण बन्द भएको छ।

यो सडक भासिएपछि ग्यास बोकेका बुलेट काठमाडौं ल्याउन सकिएन। त्यसपछि उनै उद्योगी काठमाडौंमा ग्यास आपूर्ति कसरी गर्ने भनेर दिनरात खटिरहेका छन्।

कृष्णभीरमा सडक भासिएकै दिनमा उनीहरुले आयल निगममा बैठक बसेर चितवन, मकवानपुर, नवलपरासी, बारा र पर्सामा रहेका बोटलिङ प्लान्टमा ग्यास रिफिल गरेर सानो ट्रकमा सिलिण्डर ल्याउने निर्णय गरे। त्यो निर्णय अनुसार सानो ट्रकमा सिलिण्डर काठमाडौं आइसकेको छ।

तर, कान्ति र त्रिभुवन राजपथबाट ग्यास सहजरुपमा आउन सकेन। त्यसपछि नेपाल ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, पूर्वअध्यक्षहरु शिवप्रसाद घिमिरे र गोकुल भण्डारी मंगलबार नै हेटौंडा पुगे।

‘हामीले सोचेजस्तो सानो ट्रकमा पनि ग्यास ल्याउन कठिन भयो। त्यसपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायीसँग छलफल गर्न रातारात हेटौंडा आइपुगेका छौं। अहिलेको बेला सरकार, व्यवसायी भन्ने होइन। यो हाम्रो दायित्व नै हो,’ नेपाल ग्यासका प्रबन्ध निर्देशक तथा संघका पूर्वअध्यक्ष भण्डारीले बिजमाण्डूसँग भने, ‘हामीले आफ्नो उद्योग, व्यवसाय वा नाफा नहेरी जुनसुकै बोटलिङ प्लान्टमा ग्यास भरेर तयार पारेका छौं। अब ढुवानीका लागि आवश्यक बाटो सहज बनाउनेतर्फ सरकारले लाग्नुपर्छ।’

एभरेष्ट, सुगम, प्रिमा लगायत ग्यास रहेको एसजी समूहका अध्यक्ष एवं संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गरेर उपभोक्ताको चुल्हो निभ्न नदिन सबै प्रयास गरिने बताए।

‘नाकाबन्दीजस्तो ग्यास नै आउन बन्द भएका बेलामा पनि चीनबाट ल्याउने प्रयास गरेकै हो। त्यो बेलामा हामीले भारतीय ढुवानी व्यवसायीदेखि प्रशासनसम्मलाई रिझाएर भए पनि केही ग्यास ल्याएकै थियौं। त्यो बेलामा हामीले आफैं सीमा नजिक बसेर दिनरात नभनी काम गरेका थियौं। अहिले देशलाई परेको विपत्तिका बेलामा झन् बलियो भएर उभिने प्रयास गरिरहेका छौं।’

उनले उपभोक्तालाई प्यानिक भएर स्टक नराख्न आग्रह गरे। ‘अहिलेको विपत्तिमा सरकारलाई आपूर्तिको टाउको दुखाई छ। यो बेलामा हामी जनताले पनि दु:ख दिने काम गर्नु हुँदैन। आफूसँग ग्यास हुँदाहुँदै रित्ता सिलिण्डर ल्याएर अत्यन्तै आवश्यकले नपाउने अवस्था आउँछ,’ घिमिरेले भने, ‘हामीले ग्यास ल्याइरहेका छौं। ल्याउने सुनिश्चितता पनि गर्छौं।’

संघका अध्यक्ष चन्दले हेटौंडाको बाटोमा समस्या नआए ग्यास आपूर्तिमा ठूलो समस्या नहुने जिकिर गरे। ‘ग्यास धमाधम भरेर ट्रकमार्फत ल्याउन सुरु भइसकेको छ। बाटो साँघुरो र केही ठाउँमा पहिरोका कारण जाममा परेकाले काठमाडौं पुर्‍याउन केही समस्या भएको हो,’ उनले भने, ‘त्यो पनि आज यहाँ छलफल भएपछि समस्या केही कम हुने अपेक्षा गरेका छौं।’

दैनिक ४० हजार सिलिण्डर काठमाडौं आउने

संघका पूर्वअध्यक्ष भण्डारीले दैनिक ४० हजार सिलिण्डर काठमाडौं ल्याउने जानकारी दिए। ‘तराईमा रिफिल गरेर दैनिक ४० हजार सिलिण्डर काठमाडौं ल्याउन १६० वटा गाडी चाहिने रहेछ। त्यसका लागि हेटौंडाका ट्रक व्यवसायीसँग छलफल हुँदा उहाँहरु दिन तयार हुनुभएको छ,’ उनले भने, ‘लोड गरेको ८० र फर्किने ८० गाडी जोहो भइसकेकाले ग्यासका लागि उपभोक्ता त्रसित हुनुपर्ने अवस्था छैन।’

उनका अनुसार ग्यास बोकेका गाडी बिहान ५ बजे हेटौंडाबाट हिंड्ने र बेलुका पनि काठमाडौंबाट ५ बजे फर्किने गरी समय मिलाइएको छ। ‘डेडिकेटेड हुनेबित्तिकै ग्यास बोकेका गाडी ६ घण्टामा काठमाडौं आउँछन्,’ भण्डारीले भने।