काठमाडौं। उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त खुलेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले उक्त उद्योगको व्यवस्थापकीय नेतृत्वका लागि आवेदन मागेको हो।
समितिद्वारा बुधबार प्रकाशित सूचना अनुसार योग्य तथा इच्छुक नेपाली नागरिकले २१ दिनभित्र कार्यालय समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा आवेदन बुझाउनुपर्नेछ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम योग्यता पुगेका व्यक्तिहरूले महाप्रबन्धक पदका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।
आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुनमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्छ।
उदयपुरमा कारखाना रहेको उदयपुर सिमेन्ट उद्योग सरकारी कारखाना हो। लगातार नोक्सानमा रहेको उद्योगका व्यवस्थापकीय पदमा नियुक्तिका लागि सरकारमा रहने दलको प्रभाव हुने गरेको छ।