BIZMANDU
www.bizmandu.com

बाढीले १५ जलविद्युत ध्वस्त बनाउँदा त्रिशूली नदी बीचमै रहेको एउटा आयोजना कसरी जोगियो?

२०८३ भदौ १७

बाढीले १५ जलविद्युत ध्वस्त बनाउँदा त्रिशूली नदी बीचमै रहेको एउटा आयोजना कसरी जोगियो?
बाढीले १५ जलविद्युत ध्वस्त बनाउँदा त्रिशूली नदी बीचमै रहेको एउटा आयोजना कसरी जोगियो?


काठमाडौं। भोटेकोशी करिडोरमा आएको विनाशकारी बाढीले १५ वटा जलविद्युत् आयोजना ध्वस्त बनाउँदा त्रिशूली नदीमै निर्माणाधीन १०० मेगावाटको जलविद्युत आयोजना भने सुरक्षित रहेको छ। बाढीले ल्याएका फोहोर थुप्रिएर सामान्य क्षतिबाहेक केही भएको छैन।

GBIME
Tata

त्यही भएर भोलिपल्टबाटै निर्माणको काम धमाधम भइरहेको छ। यति ठूलो बाढी त्यो पनि नदीमै निर्माण भइरहेको सुपर त्रिशूली जलविद्युत् आयोजना कसरी जोगियो? यो आयोजना ड्याम-टोई डिजाइनमा निर्माण भएको नेपालको नै पहिलो हो।

परियोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल, ग्लोबल आइएमई, हिमालयन, कुमारी, एभरेष्ट र नेपाल एसबीआई बैंकले ऋण लगानी गरेका छन्। परियोजनामा १२ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ।

आयोजना ५०० वर्षको फ्लड म्यानेजमेन्ट(बाढी व्यवस्थापन) गर्न सक्ने क्षमता आकलन गरेर डिजाइन गरिएको छ। आयोजनाको यही मजबुत डिजाइन र विशिष्ट निर्माण प्रविधिकै कारण भीषण बाढीलाई पनि सहजै थेग्न सफल भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्वधार तथा सह वित्तीयकरण विभागका प्रमुख युसुफ श्रेष्ठले बताए।

‘यो डिजाइनमा आयोजना डिजाइन गर्दा कम्तीमा ५०० वर्षको फ्लड म्यानेजमेन्ट गर्नेगरी डिजाइन गरिएको हुन्छ,’ उनले बिजमाण्डूसँग भने, ‘यस आयोजनामा कंक्रिटको ग्रेड नै बढी हुन्छ। जसमा ठूलो फ्लड पनि सहजै पास हुन्छ।’

नेपालमा हालसम्म नदी प्रवाहमा आधारित जलविद्युत आयोजनामा पहाड फोरेर बनाइने लामो सुरुङमार्ग र अग्लो ठाउँबाट पानी खसालिने गरि संरचना निर्माण गरिँदै आएको छ।

तर सुरुङ खन्नु नपर्ने र बाँधकै फेदमा पावरहाउस रहने ‘ड्याम टोई’ प्रविधिमा आधारित १०० मेगावाटको यो आयोजनाले नयाँ मानक कायम गरेको छ।

‘ड्याम टोई आयोजनामा अत्यधिक पानीको बहाव, लो हेड, र सुरुङ आवश्यक हुँदैन। नदीमा आउने लेदो र बालुवालाई सोझै बाँधका गेटहरु खोलेर बगाउन सकिने गरि डिजाइन गरिएको हुन्छ। जसले गर्दा ठुला फ्लड आउँदा पनि क्षति हुनबाट जोगिन्छ,’ उनले भने।

के हो ‘ड्याम-टु’ प्रविधि?

‘ड्याम टोई’ मोडलमा नदीको पानीलाई टाढासम्म लैजान सुरुङमार्ग खन्नु पर्दैन। श्रेष्ठका अनुसार नदीमा बाँध निर्माण गरी त्यसकै तल्लो भाग वा फेदमा पावरहाउस जोडेर बिजुली उत्पादन गरिन्छ। यो डिजाइनमा आयोजना निर्माण गर्दा धेरै पानीको बहाव, लो हेड र सुरुङ आवश्यक पर्दैन। तर, बलियो चट्टानी आधार भएका ठूला नदीका खोँचहरूका लागि यो मोडल उत्कृष्ट मानिन्छ।

सुरुङ खन्नु नपर्ने भएकाले निर्माण कार्य छिटो हुनुका साथै सुरुङसँग सम्बन्धित जोखिमहरू रहँदैनन्। अर्कोतर्फ बाँधमा थुनिएको पानीलाई पेनस्टक पाइप वा सोझै छोटो मार्गबाट फेदमा रहेका टर्बाइनहरूमा खसालिन्छ। यसमा पानी धेरै उचाइबाट नखसालिए पनि नदीको बहाव र पानीको परिमाण धेरै हुनुपर्छ।

नदीमा आउने लेदो र बालुवालाई सोझै बाँधका गेटहरू खोलेर बगाउन सकिने गरि आयोजना निर्माण गरिएको हुन्छ। ‘ड्याम टोई आयोजनामा अत्यधिक पानीको बहाव, लो हेड, र सुरुङ आवश्यक हुँदैन। नदीमा आउने लेदो र बालुवालाई सोझै बाँधका गेटहरु खोलेर बगाउन सकिने गरि डिजाइन गरिएको हुन्छ। जसले गर्दा ठुला फ्लड आउँदा पनि क्षति हुनबाट जोगिन्छ,’ उनले भने।

नेपालमा सामान्यतया आरओआर जलविद्युत आयोजनाहरू १०० वर्षको बाढी पूर्वानुमानका आधारमा डिजाइन गरिन्छ। तर, श्रेष्ठका अनुसार सुपर त्रिशूली आयोजना ५०० वर्षको बाढी व्यवस्थापनलाई आकलन गरेर डिजाइन गरिएको छ।

सामान्यतया बाँध निर्माण गर्दा एम १० र एम २० ग्रेडको कंक्रिट प्रयोग हुन्छ, तर यस आयोजनामा एम ३० र एम ४० ग्रेडको उच्च स्ट्रेन्थ भएको कंक्रिट प्रयोग गरिएको छ। जसले गर्दा खोलाले ठूला ढुंगामाटो बगाएर ल्याउँदा पनि संरचनालाई क्षति नपुग्ने उनी जिकिर गर्छन्।

भोटेकोशीमा माथिल्लो तटीय क्षेत्र रसुवामा करिब १८० किमि प्रति घण्टाको तीव्र गतिमा बाढी आएको थियो। त्यही पानीको वेग सुपर त्रिशूली आयोजनास्थलसम्म आइपुग्दा इनर्जी घटेर ३० किमि प्रति घण्टामा सीमित भएको थियो। यदि यो आयोजना रसुवाजस्तै ठाडो खोलामा भएको भए अझै मजबुत डिजाइन आवश्यक पर्थ्यो।

आयोजनाका सुपरभाइजर लक्ष्मण देवकोटा जलविद्युत् आयोजनामा लगानी गर्दा सोच पनि बदल्ने बेला आएको बताउँछन्। ‘हाइड्रोलोजीको हिसाबले होस्, भौगोलिक हिसाबले होस्, तल्लो तटीय क्षेत्रमा जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्दा माथिल्लो तटीय क्षेत्रको तुलनामा केही जोखिम कम र तुलनात्मक रूपमा सुरक्षित हुन्छन्,’ उनले भने।

विनाशकारी बाढीपछि पनि सुपर त्रिशूली आयोजनाको निर्माण कार्य रोकिएको छैन। आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। ड्यामको निर्माण सकिइसकेको छ भने अब बाँध थुन्ने गेट हाल्न मात्र बाँकी छ।

लागत कति पर्छ ?

‘ड्याम टोई’ मोडलका आयोजनामा सुरुङ खन्नु नपरेपनि सिभिल संरचना (बाँध र पावरहाउस) अति मजबुत बनाउनुपर्ने भएकाले सिभिल निर्माणको खर्च महँगो हुन्छ। टर्बाइन खोलाकै लेवलमा हुने भएकाले पनि सिभिल संरचना थप बलियो बनाउनुपर्छ। ‘यसको टर्बाइन खोलाको लेवलमा हुन्छ। त्यसले गर्दा सिभिलको स्ट्रक्चर बलियो बनाउनु पर्छ,’ श्रेष्ठले भने, ‘यस्ता खालको आयोजना बनाउँदा सुरुङको आवश्यक पर्दैन। जसले गर्दा हेड धेरै भएको ठाउँ पनि आवश्यक पर्दैन। यस्तो डिजाइनको प्रोजेक्ट सुगम ठाउँमा बनाउन सकिन्छ। तर पानि धेरै चाहिन्छ।’

विनाशकारी बाढीपछि पनि सुपर त्रिशूली आयोजनाको निर्माण कार्य रोकिएको छैन। आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। ड्यामको निर्माण सकिइसकेको छ भने अब बाँध थुन्ने गेट हाल्न मात्र बाँकी छ। हाइड्रो मेकानिकल र इलेक्ट्रो-मेकानिकलतर्फका कामहरू सुरु भइसकेका छन्।

आगामी एक वर्षभित्र बिजुली बाल्ने (उत्पादन सुरु गर्ने) तयारीका साथ काम अघि बढिरहेको छ। जस्तोसुकै बाढी आउँदा पनि काम जारी राख्न सकिने गरी डिजाइन गरिएको यो आयोजना नेपालमा ‘ड्याम-टु’ प्रविधिको सफल र नमूना आयोजनाको रूपमा अघि बढिरहेको श्रेष्ठले बताउँछन्।

‘आयोजना बनाउँदा केवल पानीको उपलब्धता, हेड र विद्युत् उत्पादन क्षमता मात्र हेरेर पुग्दैन। भौगोलिक अवस्थिति, माथिल्लो जलाधार क्षेत्र, नदीको प्रकृति, बाढीको सम्भावना, पहुँचमार्ग, निर्माण सामग्री, संरचनाको सुरक्षा तथा भविष्यमा आउन सक्ने प्राकृतिक जोखिमलाई समेत लगानीको अभिन्न हिस्सा मानेर मूल्यांकन गर्नुपर्ने रहेछ,’ उनले भने,

पानीको उपलब्धता, हेड र विद्युत उत्पादन हेरेर मात्र आयोजना निर्माण गर्दा जोखिम बढेको बताउँदै आयोजना निर्माणस्थल सहि छनोट गर्नु नै दीर्घकालीन सुरक्षाको आधार भएको देवकोटा बताउँछन्।

‘जलविद्युत् आयोजना बनाउँदा केवल पानीको उपलब्धता, हेड र विद्युत् उत्पादन क्षमता मात्र हेरेर पुग्दैन। आयोजनाको भौगोलिक अवस्थिति, माथिल्लो जलाधार क्षेत्र, नदीको प्रकृति, बाढीको सम्भावना, पहुँचमार्ग, निर्माण सामग्री, संरचनाको सुरक्षा तथा भविष्यमा आउन सक्ने प्राकृतिक जोखिमलाई समेत लगानीको अभिन्न हिस्सा मानेर मूल्यांकन गर्नुपर्ने रहेछ,’ उनले भने, ‘हामीले भोगेको र देखेको अनुभवले भन्छ,सही स्थानको छनोट नै जलविद्युत् आयोजनाको दीर्घकालीन सुरक्षाको पहिलो आधार हो।’

यो आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। याक एण्ड यती र हायात होटलमा लगानी रहेको सर्राफ ग्रुपले आयोजनामा लगानी रहेको छ। ब्लु  इनर्जी लिमिटेडले १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण गरिरहेको छ।